News

Jun 11, 2012

काम चलाउ सरकारका अध्यादेश जारी नगर्न राष्ट्रपति समक्ष आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २९- राष्ट्रपति रामवरण यादवसँग कांग्रेस-एमालेले प्रधान मन्त्री बाबुराम भट्टराईबाट सिफारिस गरिएका अध्यादेश जारी नगर्न अनुरोध गरेका छन्। राष्ट्रपति यादवलाई ती दुई दलका शीर्ष नेताहरुले भेट गरी वर्तमान भट्टराई सरकार कामचलाउ भएको भन्दै यस्तो सरकारबाट सिफारिस गरिएका अध्यादेश जारी नगर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्री भट्टराईले हिजो राष्ट्रपतिलाई भेटी वर्तमान राजनीतिक अवस्थालगायत अध्यादेश जारीका विषयमा कुराकानी गरेको बताइएको छ। ती दुई दलको आज बिहान बसेको बैठकले संविधानतः पदमुक्त भइसकेको प्रधानमन्त्री भट्टराईबाट संवैधानिक व्यवस्था विपरीत स्वेच्छाचारीरुपमा विभिन्न विधेयकहरु अध्यादेशबाट जारी गराउन प्रयास भएको भन्दै यसप्रति कडा आपत्ति र विरोध गर्ने निर्णय गरेका थिए। 'संविधानसम्मत र राजनीतिक सहमतिमा नै आफूले निर्णय गर्ने जानकारी राष्ट्रपति डा यादवले दिनुभयो'- भेटपछि भेटमा सहभागी नेकाका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीसँग भने। उनका अनुसार राष्ट्रपतिले आफूले यस विषयमा छलफल एवम् विचार गरेरमात्र निर्णयमा पुग्ने जानकारी ती दुई दलका शीर्ष नेताहरुलाई जानकारी गराएका थिए। उपसभापति पौडेलले राष्ट्रिय सहमतिका लागि ठूलो पार्टीको नाताले एनेकपा (माओवादी)बाट पहल हुनुपर्नेमा माओवादी स्वेच्छाचारी ढङ्गमा अघि बढेको आरोप लगाए। उनले भने- 'कामचलाउमा परिणत भइसकेको सरकारले अध्यादेश ल्याउने अधिकार राख्दैन।' 'पदमुक्त भई कामचलाउ रहेका वर्तमान प्रधानमन्त्रीलाई संविधानको धारा ४३ को सरकार सञ्चालनसम्बन्धी व्यवस्थामा अध्यादेश सिफारिस गर्ने अधिकार छैन'- भेटपछि नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सञ्चारकर्मीलाई भने। 'जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको सस्कृतिअनुरुप अध्यादेश सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन', उनले भने। 'एनेकपा (माओवादी) सत्ताकब्जा गर्ने षड्यन्त्रमा लागेका हुँदा अध्यादेशमार्फत शासन चलाउने सपना देखेको छ, यसलाई नेका र एमालेले पूरा हुन दिँदैन'- नेता नेपालले सञ्चारकर्मीलाई बताए। सो अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा संविधान र विगतमा भएका सहमति विपरीत अध्यादेशबाट शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक मान्यताको उल्लङ्घन गर्ने र जनतालाई धोका दिने बदनियतपूर्ण कार्य हो भनिएको छ। विज्ञप्तिमा भनिएको छ- संविधान र सहमति विपरीत षड्यन्त्रपूर्णरुपमा प्रधानमन्त्रीबाट सिफारिस गरिएका अध्यादेश जारी नगर्न हामी सम्माननीय राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध गर्दछौँ। विज्ञप्तिमा नेकाँका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले संयुक्तरुपमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति यादवसँगको भेटमा नेका सभापति कोइराला, उपसभापति पौडेल, एमालेका अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाललगायतका नेताहरु सहभागि थिए।

No comments: