News

Jun 8, 2012

माओवादीले संविधान नै बन्न नदिएको पशुपतिशमशेर राणाको भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २६,राप्रपाका नेता पशुपतिशमशेर राणाले माओवादीले एकदलीय टाइपको संविधान बनाउन खोजेको बताउँदै त्यस्तो सम्भावना नभएकाले बरु संविधान नै नबनाउने निर्णयमा पुगेको बताएका छन्। उनले एकजुट भएर यो सरकार ढाल्नुपर्छ भन्दै अहिलेसम्म प्रजातन्त्र नहारेको पनि उल्लेख गरे। उनले त्यसलाई विफल तुल्याउनुपर्ने पनि बताएका छन्। नेपाली कङ्ग्रेस-नेकपा एमालेसहितका सत्ताविरोधी २२ दलको गठनबन्धनले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन। राणाले माओवादीले जसरी पनि दुई तिहाई ल्याएर एकदलीय संविधान बनाउने र त्यसैका आधारमा सधैंका लागि संविधान कब्जा गर्ने रणनीतिअन्तर्गत संविधान सभा विघटन गराएको पनि उनले दाबी गरे। अनि भने- तर हामी उसको यो प्रयासलाई कदापि सफल हुन दिने छैनौं। संविधान सभा विघटन भएको तेह्रौं दिनका दिन यो कार्यक्रम भएको बताउँदै उनले अब बाबुराम सरकारको दाहसंस्कार गर्नुपर्ने पनि उल्लेख गरे। यसअघि पूर्व प्रधान मन्त्री लोकेन्द्रबहादुर चन्दले माओवादीले नेपाली-नेपालीलाई लडाएर आपसमा अविश्वासको वातावरण सिर्जना गरेर धमिलो पानीमा माछा पक्डने प्रयास गरेको बताएका थिए। उनले माओवादीले सङ्घीयता र संविधान देखाउने दाँतका रुपमा मात्र प्रयोग गरेको पनि बताए। यसअघि नेपाली कङ्ग्रेसका नेता रामचन्द्र पौडेलले संविधान सभा विघटन हुनुको कारण सङ्घीयता नभई सत्ता भएको बताएका थिए। अनि माओवादीको सत्ता कब्जाको नियत पनि यसको कारण भएको दाबी गरेका छन्। उनले यो सरकार रहिरहेको भए विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याएर हटाउने भएकाले संविधान विघटन गरेर लामो समय टिक्ने दाउ रहेको पनि बताए। माओवादी अध्यक्ष दाहालले संविधान सभामा अल्पमत-बहुमतको खेल सुरु भएकाले संविधान सभा बचाउन नसकिएको भनेबाट पनि यो प्रमाणित भएको उनको भनाई थियो। सङ्घीयता र समावेशिता प्रचण्ड पथका देखाउने दाँतमात्र भएको भन्दै उनले थपे- संविधान सभा माओवादीको रणनीतिमात्र थियो भन्ने उनीहरुकै शक्तिखोरको भिडियोले पनि प्रष्ट पारिसकेको छ। अहिले माओवादीलगायत केही दलले भ्रम फिँजाएजस्तो सङ्घीयता हुने कि नहुने भन्नेबारे कुनै विवाद नरहेको बताउँदै उनले प्रदेशहरु कसरी बनाउने भन्नेबारे मात्र विवाद रहेको बताए। अनि भने- माओवादीले चाहेको भए संविधान सभा विघटन हुँदैन्थ्यो र त्यो पनि मिल्थ्यो। सङ्घीयताबारे माओवादी अध्यक्ष र अन्य माओवादी नेतासमेत सहमत भई हात्तीवन सम्झौता भएको उल्लेख गर्दै पछि फेरि उनीहरुले विभिन्न बखेडा निकालेर त्यो सहमति तोडेपछि समस्या उत्पन्न भएको बताए। नेपालको झण्डा, नाम आदि फेर्ने बहुलठ्ठी कुराहरु ल्याएर वर्षौं संविधान सभाको समय बिताएकाले पनि संविधान नबनेको र त्यसमा माओवादी दोषी रहेको भनाई उनको थियो। कङ्ग्रेस नेता पौडेलले आफ्नो पार्टीले ५ प : पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा, पहुँच र प्रगतिलाई महत्व दिएको पनि बताए। अनि भने- गल्ती स्वीकारेर सरकार सहमतिमा आएन भने उनीहरुलाई घोक्र्याएर पनि ल्याउने वातावरण बनाउने छौं। यसअघि नेपाली कङ्ग्रेसका नेता प्रकाशमान सिंहले माओवादीले निर्वाचनमा दुई तिहाई मत पाउने दाबी गर्नु सपनामात्र भएको बताएका थिए। उनले तेल, ग्यास, सुरक्षा जस्ता आधारभूत समस्यासमेत हल गर्न असक्षम माओवादीको यस्तो कल्पना धेरै परको कुरा भएको दाबी पनि गरे। खुलामञ्चको यो कार्यक्रममा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट जुलुससहित भेला हुने क्रम जारी छ। भेलाका कारण राजधानीको यातायात पनि प्रभावित बनेको छ। खुलामञ्चमा राजनीतिक दलका नेताहरुले सम्वोधन गर्ने क्रम जारी छ। पार्टीका झन्डासहित कार्यकर्ताहरु कार्यक्रमस्थलमा पुगेका छन्। भाषण सुन्न पुगेकाहरुलाई पालमुनि बस्ने व्यवस्था मिलाइएको छ। कङ्ग्रेसको सुन्धाराबाट, एमालेको भृकुटीमण्डप, राप्रपा र राजपाको नक्साल, चुरे भावरको न्युप्लाजा, नेकपा मालेको गौशाला, जनता दलको लैनचौर र बाँकी दलले भद्रकालीबाट जुलुससहित खुलामञ्च पुग्ने कार्यक्रम तय भएको थियो।

No comments: