News

Jun 13, 2012

यस्तो छ अध्यक्ष पुष्पकमल दाहालको एकता प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ३१,माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा रहेको असन्तुष्ट पक्षलाई एकताका लागि राखेको सात बुँदे प्रस्तावलाई वैद्य पक्षले 'पुरानै मोडलमा आएको' प्रतिक्रिया दिएको छ। वैद्य पक्षीय नेता देव गुरुङले भने, यसअघि हामीले राख्दै आएका मुद्दाहरुलाई लिपिवद्ध गरेर जवाफ पठाउँछौँ।' उनले १ गतेको भेला जारी रहने बताए। 
 दाहालको एकता प्रस्तावको पूर्ण विवरण यस्तो छ- 
पार्टी एकता कायम राख्ने तात्कालिन आधार र उपायबारे प्रस्ताव देशको समग्र राजनैतिक परिस्थिति र संघर्षको आवश्यकताले हाम्रो महान् तथा गौरवशाली पार्टीमा उत्पन्न विवादको समाधान गरि एकताबद्ध भएर अगाडि बढ्ने आधार र उपायको खोजी गर्नु ऐतिहासिक रुपले अनिवार्य बन्न गएको छ। यो तथ्य निर्विवाद छ कि अर्को अधिवेशन भएर नयाँ आधार प्रस्तुत नगरिँदासम्म पार्टी एकताको वैचारिक, राजनैतिक र साँगठनिक आधार गत केन्द्रीय एकता अधिवेशनद्वारा पारित प्रस्ताव र विधान नै हुन्। यहाँ तात्कालिन अवस्थामा पार्टीमा उत्पन्न विवाद र संगठनात्मक एकताको संकट समाधानको उपायबारे मात्र केही बुँदा अगाडि सारिएको छ। 
 १. मा.ले.मा./विचार, नयाँ जनवादी क्रान्तिको कार्यदिशा समाजवाद र साम्यवादको उद्देश्य, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त जस्ता आधारभूत विषयहरु यतिबेला हाम्रा विवादका मुख्य विषय होइनन्। अहिले जनवादी क्रान्तिको रणनैतिक उद्देश्य प्राप्तिका लागि अपनाइएको शान्ति, संविधान र सरकारसँग सम्बन्धित कार्यनीति र तिन्को कार्यान्वयनका विषयनै हाम्रा विवादका मुख्य विषय बन्न गएका छन्। त्यसमा पनि हाम्रो ध्यान केन्द्रीय समितिको गत पूर्ण बैठकमा पार्टी एकताका निमित्त गरिएको सहमतिको राजनैतिक प्रस्तावमा केन्द्रित हुन जरुरी छ। यसरी हेर्दा शान्ति प्रक्रियाका सन्दर्भमा चावि प्रकरणदेखि सेना-समायोजनको निर्णयसम्म, संविधानका सम्बन्धमा विगतमा पार्टी नेतृत्वले गरेका कतिपय सहमति, सरकारका सम्बन्धमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको विषय एवम् राष्ट्रियताका सन्दर्भमा विप्पा सम्झौता लगायतका विषय नै विवादका मुख्य विषय बन्न गएका छन्। एकताको ऐतिहासिक आवश्यकतालाई महशुस गरि पार्टी नेतृत्व पालुङ्गटारको विस्तारित बैठकपछि लिइएका उपरोक्त सबै निर्णयहरुमा सामूहिक रुपले पूनर्समीक्षा गर्न तयार रहेको कुरा स्पष्ट गर्दछ। 
 २. उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका आधारभूत हित र अधिकार मुख्यतः पहिचानका आधारमा संघीयताका पक्षमा संघर्ष गर्दागर्दै संविधानसभाको अवसान हुन पुगेको नकरात्मक स्थितिलाई पार्टीमा एकता कायम गरि जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको अभियानमा जुट्ने सकारात्मक परिणाममा लैजाने आधार तयार भएको छ। यो एकताको आधारलाई पक्डेर अगाडि बढ्नका लागि विगतमा भएका निर्णयहरुको समीक्षा गरि कमी-कमजोरीहरुप्रति आत्मालोचित हुन पार्टी नेतृत्व तयार रहेको कुरा पनि यहाँ स्पष्ट गरिन्छ। 
 ३. पार्टी एकता र क्रान्तिको समग्र हितलाई ध्यान दिई केन्द्रीय समितिको पूर्ण बैठकमा एजेण्डा राखेर नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको कुरा स्पष्ट गरिन्छ। 
४. जुनसुकै स्थितिमा पनि संविधानसभाबाट जनताको संविधान निर्माण गर्ने नीतिमा कायम रहनुपर्दछ। संविधान नबन्दासम्म यो नीतिको औचित्य कायम रहने कुरामा स्पष्ट हुनुपर्दछ। 
५. पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा राजनैतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिको स्पीरिटमा सरकारको नेतृत्व परिवर्तन गर्न पार्टी तयार रहेको कुरा स्पष्ट गरिन्छ। 
६. वैचारिक राजनैतिक विषयसँग सम्बन्धित विवादहरुबारे पार्टीमा फोरम सञ्चालन गरि आगामी माघ महिनाभित्र महाधिवेशन आयोजना गरि टुङ्गो लगाउन प्रतिबद्ध हुनुपर्दछ। 
 ७. उपरोक्त प्रयोजनका निमित्त अहिले दुई भिन्न विचार-समूहद्वारा आयोजित आषाढ १ गतेको राष्ट्रिय भेला र आषाढ १५ गतेको केन्द्रीय विस्तारित बैठक दुवै स्थगित गरि अबिलम्ब केन्द्रीय समितिको पूर्ण बैठक बस्ने र समग्र समीक्षा सहित साझा निस्कर्ष निकाल्न प्रयत्न गर्नु पर्दछ। प्रतिक्रियावादी र अवसरवादी तत्वहरुद्वारा हाम्रो महान् र गौरवशाली पार्टीलाई विभाजित पार्न देखेको सपना र गरिरहेको षड्यन्त्रलाई परास्त गर्न उपरोक्त आधार र उपाय अपनाउन एकजुट बनौं। जतिसुकै चुनौतिपूर्ण भए पनि पार्टीको भविष्य उज्ज्वल छ। ३१ जेठ, २०६९
 प्रचण्ड 
अध्यक्ष एनेकपा(माओवादी)

No comments: