News

Jun 21, 2012

एमालेका जनजाति नेताहरु पार्टी नछाड्ने निष्कर्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ७- एकल जातीय पहिचानसहितको नारा उठाउँदै आएका नेकपा एमालेका असन्तुष्ट जनजाति नेताहरुले तत्काल पार्टी नछाड्ने बताएका छन्। उनीहरु आफ्नो विचारका पक्षमा मत बढाउन बाहिरी सदस्यसँग एकता र भित्रीसँग मिलेर अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन्। काभ्रेको धुलिखेलमा बुधबारदेखि भएको सो बैठकमा नेताहरुले पार्टीले आफूहरुको माग पूरा नगरुन्जेल पार्टीको कुनै कार्यक्रममा नजाने घोषणा पनि गरेका छन्। उनीहरुले संविधान सभाको पुनःस्थापनासमेत माग गरेका छन्। अग्रगामी संविधान बनाउनुपर्ने भन्दै नेता मोहम्मद रिजवान अन्सारीले संविधान सभाको पुनःस्थापना गर्नुपर्ने धारणा राखेका थिए। उपाध्यक्ष अशोक राईले पार्टीभित्र आफूहरुको छुट्टै विचार धारा भएकाले छुट्टै बैठक बसेको बताए। 'संविधान बन्नका लागि संविधान सभा पुनर्स्थापनाका लागि त्यसका पक्षमा उभिने सबैसँग सहकार्य गरेर सडक सङ्घर्ष गर्नुपर्ने उनको धारणा थियो। भेलामा अशोक राई, रामचन्द्र झा, पृथ्बी सुब्बा गुरुङ, विजय सुब्बा, राजेन्द्र श्रेष्ट, रकम जेम्जोङ, वीरबहादुर लामा, रणध्वज तङ्दोम्बा, अजम्बर राई, मोहम्मद रिजवान अन्सारी, जोगी राय, सत्रुधन महतो, गोपाल ठाकुरलगायतका दुई दर्जन नेता सहभागी छन्। यसैबीच केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय बल्खुमा बसिरहेको छ। बैठकमा असार ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलाले दिएको सुझावको आधारमा राज्य पुनःसंरचनासम्बन्धी पार्टीको नीति ल्याउने कार्यक्रम छ। बैठकमा राष्ट्रिय भेलामा प्राप्त सुझावका आधारमा प्रदेशको सङ्ख्या, नामाङ्कन र सीमाङ्कनबारे छलफल हुनेछ।

No comments: