News

Jun 25, 2012

भारतीय राजदूतले सगरमाथा भारतमा रहेको अभिव्यक्ति दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दक्षिण कोरियाका भारतीय राजदूत विष्णु प्रकाशले सगरमाथा भारतमा रहेको अभिव्यक्ति दिएपछि उनी विवादमा फसेका छन् । उनले भारत र चीनको सिमानामा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ भन्दै अन्तर्वार्ता दिएपछि नेपाल सरकारले कडा प्रतिवाद गरेको छ । कोरिया टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा राजदूत विष्णु प्रकाशले सगरमाथाको चर्चा गरेका हुन् । नेपालको नाम नलिइकन भारतको उत्तरपूर्वी भाग चीनसँग जोडिएको र सिमाना रहेको सगरमाथा सुन्दर र आकर्षक छ भन्ने भनाईले कूटनीतिक क्षेत्रमा हंगामा मच्चिएको छ । अन्तर्वार्ता दिने क्रममा भारत किन भ्रमणयोग्य छ ? भनेर सोधिएको प्रश्नमा विष्णु प्रकाशले भारतमा सगरमाथा भएको र कोरियाका पर्यटकहरुले भारत भ्रमण गर्नुपर्ने तर्क दिएका थिए । भारतीय राजदूतको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल सरकारले प्रतिवाद गरेको छ । "भारतीय राजदूत विष्णु प्रकाशको अभिव्यक्ति कुनै हालतमा हामीलाई मान्य हुँदैन, यो अभिव्यक्ति फिर्ता लिन कूटनीतिक च्यानलबाट हामीले आग्रह गरिसकेका छौं"- परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने । नेपाल सरकारले सगरमाथा भारतमा पर्ने खालका आसय दिने भारतीय कूटनीतिज्ञको अभिव्यक्तिको खण्डन गरिसकेको छ । यसबाट दक्षिण कोरियाबाट सगरमाथा चढ्न नेपाल आउने पर्यटकलाई भ्रममा पार्न खोजिएको प्रष्ट रुपमा बुझ्न सकिन्छ । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले भारतीय राजदूत विष्णु प्रकाशलाई लिखित रूपमै भर्बल नोट दिएका थिए तर भारतीय राजदूतले आफ्नो गल्ती स्वीकार गर्नु त कता हो कता उल्टै नेपाली राजदूतलाई यस विषयमा धेरै नबोल्न निर्देशन दिएका छन् । "भारतीय राजदूतको अभिव्यक्तिको विरोध गर्दै नेपाली दूतावासमार्फत पत्र पठाइयो तर भारतीय राजदूतले टिप्पणी नगर्न दबाब दिएर हाम्रा राजदूतलाई पठाएछन्, तर हामीले सगरमाथा नेपालमा पर्ने र यसबारे अन्यथा टिप्पणी नगर्न औपचारिक रूपमै भनेका छौँ ।"- परराष्ट्र स्रोतले भन्यो । कोरियास्थित नेपाली दूतावासले भारतीय राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराए लगत्तै परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली दूतावासलाई भारतीय राजदूतसँग सोध्न निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालय र कोरियास्थित नेपाली दूतावासका अधिकारीहरूले यसबारे औपचारिक टिप्पणी गर्न चाहेनन् । भारतको विदेश मन्त्रालयका प्रवक्ता रहिसकेका विष्णु प्रकाशले दिएको यस्तो बयानले उनको यो बोलाइ सोची सम्झि गरिएको चाल हुन सक्ने अनुमान लगाइएको छ । भारतले गौतम बुद्ध भारतको हो भनि दाबी गरिरहेको अवस्थामा नेपालीको एक मात्र शान, विश्वको उच्च शिखर सगरमाथा भारतको हो भन्ने भनाइले एका तिर भारतको अधिनायकवाद प्रर्दशित हुन्छ भने अर्को तर्फ एक पछी अर्को नेपालको पहिचान गुम्ने डर छ ।

No comments: