News

Jun 7, 2012

अध्यक्ष दाहाल र वानका बिशेषदूत ताम्राटबीच भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २५,माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनका विशेषदूत स्यामुअल ताम्राटबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बिहीबार भएको भेटमा पछिल्लो समयमा विकसित नेपालको राजनीतिक घटनाक्रम र संविधानसभाबाट संविधान नबनेको विषयमा छलफल भएको थियो । भेटमा विशेषदूत ताम्राटले संविधानसभाबाट संविधान बन्न नसक्नु दुःखद् भएको बताउँदै राजनीतिक दलहरुले सहमतिमै नेपालको भाग्य र भविष्यको फैसला गर्नुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । सो अवसरमा अध्यक्ष दाहालले राजनीतिक दलहरुका बीचमा सङ्घीयताको विषयमा सहमति हुन नसक्दा संविधान बन्न नसककेको बताउँदै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान बनाउनका लागि केही राजनीतिक दलहरु सहमत नभएका कारण देशले निकास पाउन नसकेको बताए । संविधानसभाबाटै संविधान निर्माण गर्नका लागि माओवादीले हदैसम्मको लचकता अपनाए पनि अन्य राजनीतिक दलहरु तयार नहुँदा समस्या पैदा भएको र संविधानसभा विघटन भएको उनले बताए । राजनीतिक दलहरुको सहमतिमै आगामी दिनको यात्रा तय गरिने उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसभन्दा बाहेक अरु कुनै विकल्प नरहेकोसमेत बताए । सो अवसरमा ताम्राटले राजनीतिक दलहरुबीच नयाँ सहमति गरेर देशलाई अगाडि बढाउनका लागि अनुरोध गरेका थिए । भेटमा सेना समायोजन र शान्ति प्रक्रियाको विषयमा पनि कुराकानी भएको बताइएको छ ।

No comments: