News

Jun 28, 2012

भण्डारीको पार्टीको नाम, झण्डा र विधान सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १४ - मधेस केन्द्रीत विभिन्न राजनीतिक दलहरुको सूचीमा बिहीबारबाट 'राष्ट्रिय मधेस समाजवादी पार्टी' थपिएको छ । शरतसिंह भण्डारीले बिहीबार आफ्नो पार्टीको औपचारिक घोषणा गरेका छन् । मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) छाडेका भण्डारी सहित अन्य नेताहरुको समूहले उक्त पार्टी निर्माण गरेको हो । दुई दिने राष्ट्रिय राजनीतिक सम्मेलनपछि भण्डारीले पत्रकार सम्मेलन मार्फत पार्टीको नाम, झण्डा र विधान सार्वजनिक गरेका हुन् । भण्डारीको अध्यक्षतामा तत्काललाई १६ सदस्यीय तदर्थ समिति पनि घोषणा गरिएको छ । समितिको सदस्यमा प्रमोदपसाद गुप्ता, निलम बर्मा, रामानन्द मण्डल, कौशल कुमार यादव, ओमप्रकाश यादव, जयप्रकाश यादव, लक्ष्मण महतो, जिवछी चौधरी, युसुफ साफी, पारसप्रसाद साह र शशिकान्त मिश्र छन् । अन्य कार्यविभाजन गरिएको छैन । पदाधिकारी बाहेक केन्द्रीय समिति ६१ सदस्यीय रहनेछ । केही दिनमा केन्द्रीय समितिले पूर्णता पाउने भण्डारीले पत्रकार सम्मेलनमा बताए । पार्टीको झण्डा माथि आधा सेतो र आधा हरियो हुनेछ । सेतो भागमा उदाउँदो सूर्यको संकेत रहने छ । हरियोले भनेको समृद्धि र त्यसले मधेशको प्रतिनिधत्व गर्नेछ भने सेतो भागले शान्ति र हिमाल दर्शाउने भण्डारीले जनाए । अर्द्ध सूर्यमा रहेकेा ५ वटा रेशाले संघीयता, लोकतन्त्र, समावेशिता, समृद्धि र समानता दर्शाउँछ उनले भने । विभेद तथा बिहष्करणमा पारिएका मधेशी, महिला, दलित, मुसलमान, आदिवासी जनजाति पिछडा वर्ग लगायतको राज्यमा पहुँच र सुनिश्चितताका लागि संकल्पका साथ पार्टी अगाडि बढ्ने जनाइएको छ । पार्टी अध्यक्षले लगातार दुई अवधि भन्दा बढी अध्यक्ष हुन नपाउने विधानमा उल्लेख छ । अध्यक्षको पदावधि ५ वर्षको हुने छ ।

No comments: