News

Jun 13, 2012

फेसबुकमा समाचार खोज्छन् नेपाली पत्रकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ३०,नेपाली पत्रकार सूचना प्रविधिको प्रयोगमा अगाडि रहेको राष्ट्रव्यापी एक अनुसन्धानले देखाएको छ। सेन्टर फर मिडिया रिसर्च (सीएमआर-नेपाल) ले गरेको अनुसन्धानमा नेपाली पत्रकारहरु इमेल र सामाजिक सञ्जालका साइटहरु मात्र हैन, माइक्रोब्लगिङको प्रयोग र श्रव्यदृश्य सेयरिङमा समेत अगाडि देखिएका हुन्। कतिपय सञ्चार संस्थाहरुले कार्यालयमा फेसबुक जस्ता सामाजिक सञ्जालका साइटहरुमा प्रतिबन्ध लगाएका छन्। तर सूचनाको खोजी गर्न पत्रकारहरुले प्रयोग गर्ने उपायमध्ये दोस्रो नम्बरमा फेसबुक रहेको सर्वेक्षणले देखाएको छ। 'सोसल मिडियामा आउने स्टायटस र ट्विटजस्ता सामाग्री नेपाली पत्रकारहरुको समाचारको स्रोत बनेको छ', सीएमआर नेपालले आज सार्वजनिक गरेको सर्वेक्षणको नतिजामा भनिएको छ- '३०.७ प्रतिशत पत्रकारहरु सोसल मिडियामा भेटिने सामाग्री भरपर्दो मान्छन्।' त्यसैगरी अधिकांश पत्रकारहरुले रिपोर्टिङ र आफ्ना समाचारहरुलाई पाठकसमक्ष पुर्‍याउनका लागि सोसल मिडिया र इन्टरनेटको सहायता लिने गरेको सर्वेक्षणले देखाएको छ। यसले सोसल मिडिया न्युजरुमको अलग्याउन नसकिने पाटो हुँदै गरेको देखाएको छ। 'मूलधारका मिडियामा समाचार उत्पादन गर्ने प्रक्रियालाई यसले पुनर्परिभाषित गर्नेछ', सीएमआर-नेपालले भनेको छ। 

लगभग सबै पत्रकार फेसबुकमा 
सर्वेक्षणमा सहभागी देशभरका १९२ पत्रकारमध्ये लगभग सबै पत्रकार (झण्डै ९७ प्रतिशत)सँग फेसबुक खाता रहेको देखिएको छ। माइक्रोब्लगिङमा भने ट्विटर सबैभन्दा लोकप्रिय छ। झण्डै ४० प्रतिशत पत्रकारसँग ट्विटर छ, जसले आफूसित भएका सूचना बाँड्न र लिन यसको प्रयोग गर्ने गर्छन्।

गुगल र जीमेल बढी लोकप्रिय 
नेपाली पत्रकारहरु माझ गुगलका उत्पादन लोकप्रिय देखिएको छ। सर्च इन्जिनका लागि झण्डै ९९ प्रतिशत पत्रकारहरुले गुगलको प्रयोग गर्छन्। त्यसैगरी इमेलमा गुगल कै जीमेल नेपाली पत्रकारहरु माझ सबैभन्दा (झण्डै ९३ प्रतिशत) लोकप्रिय छ। इमेलमा दोस्रो लोकप्रिय याहू (४४.३) रहेको छ भने हटमेल चलाउने ३०.२ प्रतिशत रहेका छन्। कार्यालयकै डोमेनको इमेल प्रयोग गर्ने ६.३ प्रतिशत मात्र छन्।

No comments: