News

Jun 25, 2012

अमरलाई मृत्युदण्डबाट बचाउन तत्काल पहल गर्न अपिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार ११ - अमर बचाउ अभियानले दुवईको जेलमा मृत्युदण्डको सजाय भोगिरहेका अमरबहादुर बमको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग अपिल गरेको छ । रोजगारीको सिलसिलामा दुवई पुगेका अमरलाई इण्डियन सोसल क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकोमा बचाउ अभियानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर उनको जीवन रक्षाका लागि अपिल गरेको हो । सेठ्ठीको हत्यामा अमरलाई थाहै नदिई सवारी चालकका रूपमा प्रयोग गरिएको र सरकारी काम काजको भाषा अरबी समेत उनलाई नआएको कारण उनले आफूलाई निर्दोष सावित गर्न नसकेको भन्दै पत्रकार सम्मेलनमा उनको जीवन रक्षाका लागि अपिल गरेको हो । अदालती प्रकृयामा आफ्ना कुराहरू राख्न नपाउँदा अमर निर्दोष हुँदाहुँदै पनि मृत्युदण्डको सजाय भोग्न बाध्य पारिएको र गोली हान्ने भारतीय नागरिक करण र मनोजले समेत आफूहरूको योजनाबारे अमर बेखबर रहेको र उनी निर्दोष रहेकाले माफी दिन दुबई अदालतलाई लिखित पत्र लेखिसकेको अवस्थामा अमर सरकारले पहल नगर्दा जेल जीवन बिताउन बाध्य भएको बचाउ अभियानका संयोजक अनिल उपाध्ययले गुनासो गरे । पत्रकार सम्मेलनमा बोल्दै भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले निर्दोष नेपाली नागरिक अमर बमलाई फसाईको स्पष्ट भइसकेको उल्लेख गर्दै उनलाई मृत्युदण्डबाट बचाई रिहाई गराउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्यसका लागि मानव अधिकारवादी, नागरिक समाज सबैको सक्रिय पहलको आवश्यकता समेत जोड दिए । एनआरएन महासचिव तेञ्जी शेर्पाले नेपाल सरकारको तर्फबाट सहयोग र समन्वयको अभावले अमर निर्दोष हुँदा हुँदै पनि कानुनी कठघरामा उभिएको भन्दै एनआरएनको तर्फबाट उनलाई बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा राजेन्द्र कुँवर, अनुषा ढुंगाना, हरिप्रसाद अवस्थीले पनि निर्दोष अमरको रिहाइमा सरकारले चासो नदिएको प्रति आक्रोश व्यक्त गर्दै सरकार अझै चासो नदिए सिंह दरबारको गेट ढक्ढक्याउने चेतावनी दिए २००३ जनवरी २५ मा भारतीय नागरिकहरू मनोज मुदना, करन सिंह र स्मद कुलतसँगै पक्राउ परेका अमरलाई सवारी चालकका रूपमा काम गरेको भन्दै दुवई अदालतले मृत्यृदण्ड दिने फैसला सुनाएको थियो ।

No comments: