News

Jun 11, 2012

भण्डारीद्वारा नयाँ पार्टी गठनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २९ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निष्कासित शरतसिंह भण्डारीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत भण्डारीले असार १३ गते नयाँ पार्टीको नाम, झण्डा र विधान सार्वजनिक गर्ने बताए । पत्रकार सम्मेलनमा भण्डारीले जुन विषयको विरोध गर्दै फोरम लोकतान्त्रिक गठन भयो त्यसैको अहिले पुनरावृति भइरहेको बताए । उनले भने- 'पात्र बदलियो प्रवृति बदलिएन ।' मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि निरंकुश भएको, माओवादीसँग बढी सहकार्य गरेको आरोप लगाउँदै विजय गच्छदारको नेतृत्वमा भण्डारी लगायतका नेताहरू फोरम फुटाएर फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । भण्डारीले संविधानसभा विघटनमा सरकारको महत्वपूर्ण भूमिका रहेको र सरकारमा रहेको गच्छदारको पनि उत्तिनै भूमिका देखिएको आरोप लगाए । उनले सरकार निरंकुश बन्दै गएकाले त्यसविरुद्ध लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर आन्दोलन गरिने बताए । उनले आफू सधैं लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको मुद्धामा लोकतान्त्रिक शक्तिसँग तथा संघीयताको मुद्दामा पहिचान सहितको संघीयताका पक्षधरसँग रहने उल्लेख गरे । उनले मधेस आन्दोलनको आधारमा पार्टी गठन गरिने भए पनि मुलुकभरका उत्पीडित तथा पिछिडिएकाहरूका लागि काम गर्ने बताए । लोकतान्त्रिकमा रहेका रामेश्वर साह, डा गंगाप्रसाद अकेला, जयप्रकाश यादव, मो. युसुफ साफी, शशिकान्त मिश्र, रुपा मल्ल, प्रभा चौधरी र रेखा यादव लगायत थप ११ जना केन्द्रीय सदस्यहरू भण्डारीका साथमा आएका छन् । यसअघि आइतबार पनि १० केन्द्रीय नेताले फोरम लोकतान्त्रिक छाडेको घोषणा गरेका थिए ।

No comments: