News

May 2, 2008

समानुपातिकमा ५० प्रतिशत महिला भागवण्डा हुनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
विभिन्न राजनीतिक दलका नेताहरूले समानुपातिक निर्वाचन प्रणालीमा जितेको मत भागवण्डा गर्दा त्यसमा पचास प्रतिशत महिलाको सहभागिता हुनुपर्ने आवाज महिलाहरूले उठाएका छन्। विभिन्न सङ्घसंस्थामा संलग्न महिला अधिकारकर्मीहरूले अन्तरिम संविधानमा समेत समानुपातिक निर्वाचन प्रणालीमा ५० प्रतिशत महिलाको सहभागिता हुने भन्ने कुरा उल्लेख भइसकेकाले सोको कार्यान्वयन गर्न दलहरूलाई अनुरोध गरेका छन्। अधिकारकर्मी महिलाहरूले मनोनित गरिने २६ जनामा जसरी भएपनि ५० प्रतिशत महिला हुनुपर्ने माग पनि गरे। राष्ट्रिय महिला आयोगका अध्यक्ष नैनकला थापाले समानुपातिक निर्वाचन प्रणालीमा जितेका सबै दलले ५० प्रतिशत महिलालाई सहभागी गराउनसके अब बन्ने नयाँ संविधानमा महिलाको अधिकार सुनिश्चित हुने बताउनुभयो। सञ्चारिका समूह नेपालका अध्यक्ष बबिता बस्नेतले समानुपातिक निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिता गराउने बाध्यात्मक व्यवस्था भएकाले दलहरू त्यसविपरीत जानेमा कुनै शङ्का नभएको उल्लेख गर्दै मतदानका बेला ५० प्रतिशतभन्दा महिलाले मतदान गरेकाले ती महिलाको इज्जतका लागि पनि मनोनित गरिने सिटमा ५० प्रतिशत महिलाको स्थान सुनिश्चित गरिनु पर्ने बताउनुभयो।

No comments: