News

May 2, 2008

अरु दलले साथ नदिए माओवादीले एक्लै सरकार बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सरकार गठनका लागि नेकपा (माओवादी)ले सबै विकल्प खुला राखेको बताउनुभएको छ। एकसय उन्नाइसौं अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा खुलामञ्चमा आयोजित विशाल मजदुर भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा (माओवादी)को जारी केन्द्रीय कमिटीको बैठकले सरकार गठन गर्न सबै विकल्प खुला राखेको जानकारी दिनुभयो। मन्त्री महराले अब नेकपा (माओवादी)को नेतृत्वमा सरकार बन्ने र अरु दललाई पनि साथमा लिएर जाने पहिलो विकल्प रहेको स्पष्ट गर्दै यदि अरु दलले साथ नदिए नेकपा (माओवादी) एक्लै सरकार बनाउन तयार रहेको बताउनुभयो। नेकपा (माओवादी)का प्रवक्तासमेत रहनुभएका महराले अबको सरकारको नेतृत्व आफ्नो पार्टीले नै गर्ने, अरु कसैलाई अधिकार नभएको तर्क राख्नुभयो। सरकार गठन तथा राजनीतिक परिवर्तनलाई संस्थागत गर्न केही चलखेलका सङ्केत देखिन थालेका छन् भन्दै मन्त्री महराले आफूहरूलाई विगतमा प्रजातन्त्रको पाठ सिकाउन खोज्ने केन्द्रहरूबाटै षड्यन्त्रको वीजारोपण हुन खोजेको दाबी पनि गर्नुभयो। के सत्तामा रहिरहनु नै प्रजातन्त्र हो भनी प्रश्न गर्दै उहाँले भन्नुभयो-प्रजातन्त्रको मूल्य र मान्यता जनताबाट सिक्नुपर्छ, हामी फरक ढङ्गले शासन चलाउनेछौं, हामी साँच्चै लोकतन्त्रवादी भएर देखाइदिनेछौं। केही दिनभित्रै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गर्नेछौं, जनताले दिएको जनादेश पनि यही हो भन्दै उहाँले आफूहरूले नयाँ लोकतन्त्र, नयाँ गणतन्त्र र नयाँ राष्ट्रवादलाई अगाडि बढाउने स्पष्ट गर्नुभयो।

No comments: