News

May 3, 2008

समानुपातिकले एमालेमा भाँडभैलो, पार्टी कार्यालय तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
संविधानसभा निर्वाचनको समानुपातिकतर्फबागलुङबाट सिफारिस भएका कसैको पनि नाम समावेश नभएको भन्दै एमालेका असन्तुष्ट युवाहरुको समुहले शुक्रवार साँझ नेकपा एमाले जिल्ला कार्यालय, बागलुङमा तोडफोड गरेका छन् । तोडफोडबाट पार्टीका कार्यालयका दुइ वटा कोठामा रहेका पार्टीका महत्वपूर्ण काजगात, फर्निचर, टेलिफोन, घडिलगायतका सामान लथालिङ भएको छ ।५ बजे कार्यालय बन्द गरेर गएपछि कार्यालय तोडफोड भएको एमाले जिल्ला सचिव जनक पौडेललाई उद्धृत गर्दै पत्रकार रामबहादुर जिसीद्वारा प्रेषित खबरमा जनाइएको छ । कार्यालय सचिव, आर्थिक विभाग प्रमुखसहित रहने कोठा र सचिव तथा उपसचिवको कोठाका सम्पूर्ण सामान तोडफोड भएका छन् भने पार्टीका महत्वपूर्ण दस्तावेज र कुर्ची टेबुल तोडफोड भएको र क्षतिको एकिन गर्न नसकिएको एमालेले जनाएको छ । प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा आवद्ध युवाहरुको समुहले तोडफोड गरेको प्रत्यक्षदर्शीले बताए । नेकपा एमालेले बागलुङ जिल्लाबाट केन्द्रीय अनुशासन निरीक्षण कमिटिका सदस्य ऋषिराम शर्मा, पार्टी कार्यालय सचिव कृष्ण पाठक र सचिवालय सदस्य गोविन्द नेपालीको नाम समानुपातिकमा सिफारिस गरेकोमा आयोगमा पठाउँदा कुनै पनि नाम समावेश नभएपछि सो तोडफोड भएको एमाले श्रोतले जनाएको छ । यता, काठमाडौंमा पनि आफूसँग सामान्य सम्पर्क नगरी समानुपातिकको नामावली पेश गरिएको भन्दै एमाले उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले हिजै साँझ पदबाट राजीनामा दिएका छन् ।

No comments: