News

Apr 13, 2010

दार्चुलामा भोकमरीबाट एक जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दार्चुला, चैत ३०,दार्चुला सदरमुकामबाट २३ कोस टाढा रहेको खण्डेश्वरी गाविसको वडा नं. ३ थुम्तीमा भोकमरीबाट एक जनाको मृत्यु भएको छ । खाद्यान्न किन्न पैसा नहुँदा खाना नपाएर २५ वर्षीय सुमनसिंह ठेकरेको आइतबार राति मृत्यु भएको हो ।
बाआमा, दुई छोराछोरी र श्रीमतीका साथ बस्ने ठेकरेको खान नपाएर मृत्यु भएको खण्डेश्वरी गाविसका पूर्वगाविस अध्यक्ष प्रेमसिंह बोहराले बताउनुभयो । ठेकरेसँग खेतीयोग्य जमिन नभएको र पुख्र्यौली जमिनबाट उत्पादन हुने खाद्यान्न डेढ महिनासम्म पुग्नेगरेको बोहराले जानकारी दिए । घरमा मकै र चामल सिद्धिएपछि दुई महिनादेखि गाँउलेसँग मागेर ठेकेरले खानाको जोहो गरेका थिए । गाँउलेले दिएको खाद्यान्न सिद्धिएपछि आइतबार साँझ ठेकरेका परिवारले फर्सी खाएर भोक टारेको स्थानीय मानसिंह बोहराले बताउनुभयो । "ठेकरेकी श्रीमती वैशाखमा सुत्केरी हुने छन्, श्रीमान्को खान नपाएर मृत्यु भएको छ" मृतक ठेकरेको परिवारको स्थिति बताउँदै बोहराले भन्नुभयो ।
घरको आर्थिक अवस्था कमजोर भएको र स्थानीय पसलेबाट चामल किन्न पैसा नभएकोले ठेकरेले ज्यान गुमाउनु परेको खण्डेश्वरी गाविसका सचिव लक्ष्मणसिंह धामीले बताउनुभयो । ठेकरेको मृत्यु भएपछि परिवारका अन्य सदस्यहरुलाई सोमबार गाउँलेले खाद्य सामग्री उपलब्ध गराएको गाविस सचिव धामीले जानकारी दिनुभयो ।

No comments: