News

Apr 14, 2010

सेना समायोजनका सम्बन्धमा छलफल स्थगन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन विशेष समितिले सेना समायोजनका सम्बन्धमा समितिमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग आज गर्ने भनेको छलफल स्थगन भएको छ । समितिको पटकपटकको बैठकमा सेना समायोजनको प्रक्रिया र सेना समायोजन सम्बन्धमा सहमति हुन नसकेपछि गत शुक्रबारको बैठकले समितिमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाउने निर्णय गरेको थियो ।बैठकमा सहभागी राजनीतिक दलका प्रमुखलाई अहिलेसम्म विशेष समितिले गरेका कामकारबाही र प्रस्तुत कार्ययोजनाबारेमा जानकारी दिने, अहिलेसम्म निर्णय हुन नसकेका विषयमा छलफल हुने तथा माओवादी लडाकु समायोजनसम्बन्धी प्राविधिक समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम तय भएको थियो ।त्यस्तै सेना समायोजनका लागि कस्तो‘प्याकेज’ ल्याउने भन्ने सन्दर्भमा प्राविधिक समितिको प्रतिवेदन, शान्तिप्रक्रियालाई अघि बढाउन सेना समायोजनको विषय राजनीतिकस्तरबाटै स्पष्ट गर्ने आवश्यक विषयमा समेत छलफल हुने कार्यक्रम थियो ।यसअघि बसेको समितिको बैठकले आजको मिति तय गरेतापनि दलहरूको कार्यव्यस्तताका कारण अर्को मिति तोकिने जानकारी समितिका सदस्य डा. रामशरण महतले दिनुभयो ।प्रधानमन्त्रीको संयोजकत्वमा गठित सेना समायोजन विशेष समितिमा एकीकृत नेकपा (माओवादी), नेपाली काङ्गे्रस, नेकपा (एमाले), मधेसी जनअधिकार फोरम, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र तराई-मधेस लोकतान्त्रिक पार्टीका प्रतिनिधि सदस्य छन् ।

No comments: