News

Apr 14, 2010

नयाँ वर्षको दिन मात्र फुल्ने सलहेस फूल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ वर्षको दिन मात्र फुल्ने सलहेस फूल हेर्नका लागि अहिले सिरहामा पर्यटकहरूको भीड लागेको छ । भारतको विहार, कोलकाता, पटनादेखि नेपाल घुम्न आएका भारतीयदेखि अमेरिकाका पर्यटकहरू समेत लहानदेखि चार किलोमिटर पश्चिममा रहेको यो आश्चर्य र अलौकिक फूलको अवलोकन गर्न यहाँ आइपुगेका छन् ।
विशाल, गोधुली, आकाश, शेराटनलगायत लहानका गेस्टहाउस खचाखच भरिएका छन् । सलहेस फूलबारी अवलोकन गर्नका लागि पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शत्रुघ्नप्रसाद सिंह कोइरी पनि लहानमा हुनुहुन्छ भने बुधबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीको पनि यहाँ आउने कार्यक्रम रहेको बताइएको छ ।
वर्षमा एक दिन फूल्ने, अझ त्यसमाथि एउटै मात्र फूल, त्यो पनि माला आकारमा फुल्नाले सर्वसाधारणका लागि सलहेस फूलबारीमा फूल्ने सो फूल अहिले पर्यटनको आकर्षणको केन्द्रविन्दु बनेको छ । अघिल्लो दिन कोपिला लाग्ने र विस्तारै विस्तारै घण्टैपिच्छे आकार लिँदै नयाँ वर्षको बिहानी वैशाख १ गते मालाको आकारमा त्यस फूलले पूर्णता पाउँछ । सलहेस क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्ष जयप्रकाश यादवका अनुसार परापूर्वकालमा सलहेस राजाको फूलबारी रहेको सो फूलबारीमा राजा सलहेसलाई उनकी प्रेमिका कुशमा मालिनीले बिहानीपख फूलको माला लगाइदिने भएकाले वैशाख १ गते बिहान दुवैजनाको प्रेमको प्रतीक बनेर माला देखिएको हो । फूलको माला बिहानै फक्रिने र वैशाख १ गतेको साँझदेखि ओइली भोलिपल्ट झर्ने तथा वर्षभरि देख्न नपाइने भएकाले एक दिनको फूल त्यहाँको आश्चर्य भएको यादवले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका मानव संशाधन शाखाका प्रबन्धक मणि लामिछानेले स्थानीयस्तरमा लोकपि्रय तथा आश्चर्यजनक रहेको सलहेश फूलबारीको पर्यटन विकास गर्दै अन्तर्राष्ट्रियकरण गरिने बताउनुभयो । उहाँले सन् २०११ को पर्यटन वर्षमा सलहेश फूलबारीलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा विकसित गर्ने योजना नेपाल पर्यटन बोर्डको रहेको जानकारी दिनुभयो ।
पर्यटन तथा उड्डयन राज्यमन्त्री शत्रुघ्नप्रसाद सिंह कोइरीले तराईलाई कृषि प्रधान क्षेत्रको रूपमा मात्र नलिई पर्यटन प्रधान क्षेत्रको रूपमा पनि विस्तार गर्ने उदाहरण सलहेस फूलबारीले देखाएको उल्लेख गर्दै यहाँ आउने विदेशी पाहुनाहरूलाई सलहेस क्षेत्रले मैथिली संस्कार अनुसार गरिने आदर सम्मानको अनुपम नमुना पेस गर्ने बताउनुभयो ।
राज्यमन्त्री सिंहले केही स्थानमा सीमित रहेको पर्यटकीय क्षेत्रलाई विस्तार गर्न पर्यटन वर्ष २०११ ले सघाउ पुर्‍याउने र सोको प्रारम्भिक आरम्भ वैशाख १ गते लाग्ने सलहेस फुलबारीले गर्ने बताउनुभयो ।

No comments: