News

Jun 9, 2010

अफ्रीकाले यौनकर्मीलाई सडकबाट हटाउने अभियान सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहानेसबर्ग/ विश्वकप फुटबल नजिकिँदै जाँदा आयोजक दक्षिण अफ्रीकाले मगन्ते, सकड बालक तथा यौनकर्मीलाई सडकबाट हटाउने अभियान सुरु गरेको छ । अफ्रीकाको सबैभन्दा धनी मुलुकले आफ्नो कमजोरी लुकाउने प्रयासस्वरूप अन्य मुलुकबाट आएका मगन्तेलाई समेत सुरक्षित बासस्थानमा राख्ने भएको छ । बितेको साढे दुई महिनामा जोहानेसबर्गका प्रहरीले विशेषतः जिम्बाबेबाट आएका दृष्टिविहीन भिखारीका साथै बच्चासहित सडकमा बस्ने माग्ने महिलालाई त्यहाँबाट हटाउन थालेपछि मानवअधिकारवादीले विरोधसमेत जनाएका छन् ।
'उनीहरूको उपस्थितिले सहरको सुरक्षा व्यवस्थामा कठिनाइ आउँछ । त्यसैले गर्दा हामीले उनीहरूलाई सुरक्षित बासस्थानमा लगेका हौँ । त्यहाँ उनीहरूको हरेक आवश्यकता पूरा गरिएको छ । यो प्रहरीको साधारण अभ्यास नै हो, तर विश्वकपका लागि हामीले त्यस कार्यलाई अलि व्यापक बनाएका मात्रै हौँ,' जोहानेसबर्ग मेट्रो प्रहरीकी प्रवक्ता एद्ना मानोनायनले बताइन्, 'यौनकर्मीका सन्दर्भमा भने हाम्रो कार्य अलि कठिन छ, दैनिकजसो उनीहरूलाई चेतावनी दिइन्छ वा पक्राउन गरिन्छ ।' सडक बालक तथा यौनकर्मीका लागि कार्य गर्ने अधिकारकर्मी भने प्रहरीले उनीहरूको अधिकारको हनन गरिरहेको आरोप लगाउँछन् । साथै, उनीहरूलाई पक्राउ गरे पनि स्तरहीन बासस्थान र खाना दिइने गरिएको दाबी पनि अधिकारकर्मीको छ ।
'यो अधिकारको चरम हनन हो, प्रहरीलाई यस्तो कार्य गर्ने अधिकार छैन । विश्वकपजस्तो प्रतियोगिताको सदुपयोग गर्न पाउनु सबैको अधिकार हो,' अधिकारकर्मीको समूह एडिक्सन इक्सन क्याम्पेनका प्रमुख वारेन विट्फिल्ड भन्छन्, 'समस्या ठूलो छ । मानिसलाई सडकबाट उठाएर सेल्टर र क्याम्पमा राख्न थालिएको छ ।'
उता, डर्बानमा रहेका सडक बालकलाई पक्राउ गरेर सहरभन्दा बाहिर राखिएको छ । 'हामीहरू आफूलाई फिर्ता पठाउन आग्रह गरिरहेका छौँ । तर, प्रहरी भने हामीले गर्दा सहर फोहोर भएको बताइरहेको छ,' १३ वर्षीय बालकले एजेन्सीलाई बताए ।
डर्बानको सडकमा मात्रै झन्डै चार सय बालकले जीवन बिताइरहेका छन् । बालबालिकाको अधिकारसम्बन्धी कार्य गर्ने संस्थाहरूका अनुसार प्रायः ती सबैलाई सडकबाट हटाइसकिएको छ ।
डर्बानका अधिकांश पर्यटकीय क्षेत्रमा देखिने यौनकर्मी पनि अहिले देखिन छाडेका छन् । ग्राहकको खोजीमा समुद्रीतट, रेस्टुरेन्ट तथा बारमा धाउने यौनकर्मीको उपस्थितिसमेत न्यून बन्दै छ । केही सरकारी अधिकारीले कानुनी दायरामा रहेर व्यवसाय गर्न छुट दिइने धारणा राखेपछि लाइसेन्सवाला यौनकर्मी भने खुसी नै देखिएका छन् । तर, केही संस्था तथा विपक्षी राजनीतिक पार्टीहरूले भने त्यसको पनि विरोध गरेका छन् ।
उता, सेक्स वर्कस एजुकेसन एन्ड एड्भोकेसी टास्क फोर्स (स्विट) ले भने विश्वकपको दौरानमा सुरक्षित यौन कार्यका लागि जनचेतना जगाउन फुटबलको लोगोअंकित कन्डम वितरण गर्ने योजना बनाएको छ । चार करोड ८० लाख जनसंख्या रहेको दक्षिण अफ्रीकाका ५७ लाख नागरिक एचआइभी पोजेटिभ छन् ।

No comments: