News

Jun 10, 2010

विश्वकै सबैभन्दा अग्लो आवासगृह निर्माण गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई, जेठ २७,भारतको प्रमुख घरजग्गा व्यवसायी कम्पनी लोधा डेभलपर्सले व्यापारिक राजधानी मुम्बईको मध्यभागमा विश्वकै सबैभन्दा अग्लो आवासगृह निर्माण गर्ने भएको छ। यसको लागत २० अर्ब रुपैयाँ रहने कम्पनीले जनाएको छ। १ सय १७ तल्ले अग्लो उक्त आवासगृह १ हजार ४ सय ५० फिट अग्लो हुनेछ। यसको नाम 'वर्ल्ड वान' राखिएको छ। केही महिनाभित्र निर्माण सुरु हुने यो भवन सन् २०१४ सम्ममा पूर्णरूपमा तयार हुनेछ। यो भवनले अस्ट्रेलियाको गोल्ड कोस्टस्थित हालसम्मकै अग्लो आवासगृहलाई पछाडि पार्ने दाबी कम्पनीले गरेको छ। ८० तल्ले त्यो भवनको उचाइ १ हजार ५८ फिट छ।
कम्पनीले 'अतिधनी' भारतीयलाई लक्ष्य गरेर भवन बनाउन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। यो भवनका अपार्टमेन्टको मूल्य न्यूनतम ७ करोड ५० लाखबाट सुरु भई सबैभन्दा महँगो अधिकतम ५० करोड रुपैयाँ तोकिएको छ।
कम्पनीले हालै सीमित क्रेताका लागि प्रतिवर्गफिट २५ हजार रुपैयाँका दरले अपार्टमेन्ट बिक्रीको 'सफ्ट लन्च' गरेको थियो। तर, कम्पनीले यो परियोजनाको औपचारिक बिक्री सुरुवात भने यो महिनाको अन्तिममा गर्ने जानकारी दिएको छ। यो भवनभित्र ३ सयवटा विशिष्ट घर हुनेछन्। यिनमा तीन बेडरुम र चार बेडरुमसहित सबै घरलाई छुट्टाछुट्टै पौडी पोखरी हुनेछन्।

No comments: