लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आउनुभएको नयाँ बजारस्थित निजी निवासमा मंगलबार साँझ गोली चलेको छ। प्रचण्डनिवासमा गोली चलेपछि माओवादी कार्यकर्ताले उक्त घरलाई आफ्नो नियन्त्रणमा लिएर घरभित्र कसैलाई प्रवेश गर्न दिएका छैनन्। गोली चलेको खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेको भए पनि माओवादी कार्यकर्ताले प्रहरीलाई गोली पड्केको स्थानमा जान रोक लगाएको घटनास्थल पुगेका एक प्रहरीले नेपाल समाचारपत्रलाई जानकारी दिए।माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालले प्रचण्डनिवासको सुरक्षामा बसेका जनसेना डयुटी बदली गर्ने क्रममा राइफल खसेर पड्किएको जानकारी सञ्चारकर्मीलाई दिए। तर, प्रहरीको उच्चस्रोतका अनुसार डयुटीमा रहेका माओवादी सेनाले गोली पड्काएका हुन्। माओवादीले उक्त घटनालाई असावधानीवश गोली पड्किएको बताए पनि स्वचालित राइफल भुइँमा खस्दैमा त्यसरी पड्कँदैन।उक्त घटना भएको थाहा पाएर समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई घरभित्र प्रवेश गर्न माओवादीले रोक लगाएपछि उक्त घटनालाई सबै क्षेत्रले गम्भीर रूपमा लिएको पाइएको छ। माओवादी नेतृत्वले स्वचालित हतियार र्सट मेसिनगनबाट ३ फायर भएको जानकारी दिएको छ। अध्यक्ष प्रचण्डको सुरक्षाका लागि माओवादी सेना बस्दै आएको सुरक्षाघरभित्र उक्त गोली चलेको थियो।माओवादीले असावधानीवश गोली चलेको दाबी गरे पनि पड्किएको उक्त गोलीमध्ये २ वटाले घरको छाना प्वाल पारेको छ भने एउटा गोली घरको भित्तामा गएर लागेको थियो। उक्त घटनामा मानवीय क्षति भने भएको छैन। माओवादीले उक्त घटना कसरी भयो भन्ने विषयमा आन्तरिक छानबिन शुरू गरेको छ। घटनाका बारेमा जानकारी लिन सञ्चारकर्मीहरू राति अबेरसम्म प्रचण्डनिवासबाहिर बसे पनि सञ्चारकर्मीलाई भित्र प्रवेश दिइएन।प्रचण्डको सुरक्षाका लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको निरीक्षण कमान्डमा ३० जनाको टोली तैनाथ गरेको छ भने माओवादीले आफ्नो सेनाको एक कम्पनीलाई परिचालित गरेको छ।माओवादीले अध्यक्ष प्रचण्डको सुरक्षामा पार्टी विश्वास गरेका व्यक्तिहरूलाई मात्रै खटाउने गरेको स्रोतले जानकारी दियो।
No comments:
Post a Comment