News

Mar 1, 2012

तीनै दलले जिम्मेवारी अनुसारको प्रस्ताव तयार पारे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १८ - प्रमुख तीन दलका शीर्ष नेताले शान्ति तथा संविधान प्रक्रियामा जारी गतिरोध अन्त्यका लागि आ-आफूले आएको जिम्मेवारी अनुसारको प्रस्ताव तयार पारेका छन् । नेताहरु गतिरोध अन्त्यका लागि सहमतिको दिशामा अग्रसर देखिएका छन् । यसअघिको बैठकले शान्ति प्रक्रियाका विषयमा माओवादीलाई,वेपत्ता तथा सत्य निरुपण मेलमिलाप आयोग गठन सम्बन्धमा कांग्रेसलाई तथा संविधान निर्माणका विषयमा प्रस्ताव तयार पार्ने जिम्मा एमाले शीर्ष नेतृत्वलाई दिएको थियो । तीन दलले सहमतिको मिलनबिन्दु सहितको प्रस्ताव बिहीबार बसेको बैठकमा पेस गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा भएको बैठकमा दाहालसंगै कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ लगायतका नेताहरु उपस्थित थिए । गतिरोध फुकाउने जिम्मा शीर्ष नेतृत्वलाई दिइए अनुसार नेताहरुले छलफललाई तिव्रता दिएका छन् । बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा कांग्रेस नेता रामचन्द्र पौडेलले विगतको भन्दा सकारात्मक ढंगले छलफल भएको प्रतिक्रिया दिएका छन् । 'माओवादीको सेना समायोजनका विषयमा विशेष चासो छ,'नेपालले भने-'सात बुँदे सहमति भन्दा बाहिर गएर समायोजनका काम हुनसक्दैन । सेनामा माओवादीको प्रतिनिधित्व देखिन नदिने तर्फ सचेत छौं ।' माओवादी नेता वर्षमान पुनले पनि बैठक सकारात्मक दिशामा अघि बढेको बताए । माओवादी उपाध्यक्ष मोहन वैद्यले शान्ति र संविधान प्रक्रिया संगसंगै बढ्नुपर्नेमा आफ्नो जोड रहेको बताए । शान्ति र संविधान प्रक्रियामा नमिलेका कतिपय विषयमा शीर्ष तहमा छलफल गरी सहमति खोजिने प्रयास सुरु भएको छ । शनिबार पुनः बस्ने तीन दलको बैठकले प्रस्तावहरु उपर थप छलफल गर्नेछ ।

No comments: