News

Mar 1, 2012

ट्राफिकलाई माफी मगाइएकोमा छानबिन प्रतिवेदन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, फागुन १८- ट्राफिक प्रहरीहरुलाई माफी मगाइएको विषयमा छानबिन गरेको यहाँको प्रहरी टोलीले आफ्नो प्रतिवेदन क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा पठाएको छ। चार दिनसम्म अध्ययन अनुसन्धानपछि उक्त प्रतिवेदन छानबिन टोलीले क्षेत्रीय प्रहरी कार्यालयमा पठाएको हो। गत बिहीबार दाङको घोराहीमा हेल्मेट नलगाएको मोटरसाइकल चलाउने एकजना युवा संघका कार्यकर्तालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि उत्पन्न विवादमा पाँच घण्टा सम्म चक्काजाम गराएर युवासंघका कार्यकर्ताहरुले ट्राफिक प्रहरीहरुलाई सार्वजनिक स्थलमै माफी माग्न लगाएका थिए। त्यसपछि अपमानित भएको र स्वाभिमानमा आँच आएको भन्दै ट्राफिक प्रहरीहरुले जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवीण कर्माचार्य कै अगाडि वर्दी तथा दर्ज्यानी चिन्हसमेत फुकालेर सामूहिक राजीनामाको घोषणा गरेका थिए।
त्यस विषयमा छानबिनका लागि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी घनानन्द भट्टको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो। 'प्रतिवेदन क्षेत्रमा पठाएको छु' संयोजक घनानन्द भट्टले भने, 'कारबाहीको भागिदार को हुने भन्नेबारेमा अन्तिम फैसला मेरो हुँदैन।'उनका अनुसार घटना विवरण सबै प्रतिवेदनमा उल्लेख गरिएको र अब क्षेत्रीय प्रहरी कार्यालयले नै घटनाका सम्बन्धमा कारबाही अघि बढाउने छ। स्रोतका अनुसार प्रतिवेदनमा घटनाका मुख्य दोषीको बारेमा केही उल्लेख गरिएको छैन। स्रोतका अनुसार नियमित चेकजाँचमा धम्की दिनु सबैभन्दा ठूलो गल्ती, त्यसमा प्रतिवाद गर्दा भएको अर्को गल्ती तथा समस्या उव्जेको समयमा सामान्य बलसमेत प्रयोगै नगरी माफी माग्न लगाउनु प्रहरी अधिकृतको अर्को ठूलो गल्ती भएको औल्याइएको छ।
प्रहरीहरुलाई माफी मगाउने क्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी विपिन कर्माचार्य सोही घटनास्थलमा थिए। उनैले ट्राफिक प्रहरीहरुलाई सार्वजनिक रुपमा माफी मगाउने सहमतिमा हस्ताक्षरसमेत गरेका थिए। समाचार स्रोतका अनुसार प्रतिवेदनमा वर्दी फुकाल्ने ट्राफिक प्रहरीहरुलाई परिस्थितिवश अनुशासन उल्लघंन गरेको भन्दै सामान्य नसियत मात्रै दिने र कुनै पनि विभागीय कारवाही गर्नुनपर्ने उल्लेख छ। त्यसैगरी ति ट्राफिकहरुको दैनिकी कारवाहीलाई सामान्य तथा सहज रुपमा लिएर अन्य निकायको दोषलाई पनि प्रतिवेदनमा औँल्याइएको छ। तर संयोजक भट्टले भने प्रतिवेदनका बारेमा केही बताउन चाहेनन्। कसलाइ कति हदको कारवाहि गर्ने भन्ने विषयमा भने प्रहरी प्रधान कार्यालयले अन्तिम फैसल गर्ने छानविन समितिले जनाएको छ। क्षेत्रीय प्रहरी कार्यालयले छानविन समिति बनाएर अञ्चल प्रहरी प्रमुखलाई संयोजक छानबिनमा खटाएको दुई दिनपछि फेरि गृहमन्त्रालयबाटै प्रहरी प्रधान कार्यालयले यो विषयमा थप अध्ययन गर्न डिआइजी केशव अधिकारीको संयोजकत्वमा एक टोलीलाई पनि जिल्लामा पठाएको थियो। सो टोलीले भने आफ्नो तर्फबाट भिन्नै प्रतिवेदन केन्द्रमा लगेको छ।

No comments: