News

Mar 1, 2012

रंगेहात पक्राउ परेका राज्यमन्त्रीका सचिव थुनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १८ - विशेष अदालतले घुस लिएको आरोप लागेका वन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादवलाई अनुसन्धानका लागि १५ दिन हिरासतमा राख्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वकीय सचिव यादवलाई अनुसन्धानका लागि ३० दिन हिरासतमा राख्न माग गरे पनि उक्त अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १५ दिन मात्र हिरासतमा राख्न आदेश दिएको हो । आयोगमा कार्यरत प्रहरी नायब उपरीक्षक लालमणि आचार्यको टोलीले हिजो दिउँसो अनामनगरस्थित एक रेष्टुरेन्टबाट घुस लिँदै गर्दा स्वकीय सचिव यादवलाई रङ्गेहात पक्राउ गरेको थियो ।
छत्तीस वर्षअघि मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुन्ज घोषणा हुँदा स्थानीय सर्दी गाविस वडा नं. १ र २ का ७७ जना बासिन्दाको जमिन अधिग्रहणमा परेपछि उनीहरूलाई त्यस बखत दिनुपर्ने जम्मा रू ३२ लाख ४९ हजार मुआब्जा अहिलेसम्म अडकेर बसेको थियो । वनराज्यन्त्रीकहाँ पुगेको सो मुआब्जाको फाइल स्वीकृति गराउन केही रकमको आवश्यकता पर्ने भन्दै स्वकीय सचिव यादवले करिब तीन लाख कमिसन मागेको र कमिसन बिना काम अघि नबढ्ने भएपछि पीडित बासिन्दाले अख्तियारमा उजुरी गरेका थिए ।

No comments: