लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २२,सरकारले डेढ करोड रुपैयाँ उपलब्ध नगराउँदा नारायणहिटी संग्रहालयले श्रीपेचलाई सार्वजनिक प्रदर्शनमा राख्न सकेको छैन । सात सय ३० दाना हीरा, २ सय ३९ दाना मोती र १६ थरीका मणि भएको यो श्रीपेचमा दुर्लभ अफ्रिकी चरा कल्कीको पुच्छर जडित छ । पृथ्वी वीरविक्रम र वीरेन्द्रको पालामा यसको मर्मत गरेर थप बहुमूल्य पत्थर जडिएको श्रीपेचको अत्याधुनिक विद्युतीय सुरक्षा संयन्त्रको अभावमा प्रदर्शन गर्न नसकिएको मन्त्रालयले जनाएको छ । फ्रान्सको लुभ्र संग्रहालयमा उच्च सुरक्षा संयन्त्रका साथ मोनालिसाको तस्बिर राखेझैं श्रीपेच राख्नलाई उक्त रकमको आवश्यकता भएको हो । ‘यो सुरक्षा प्रणाली निकै महँगो हुन्छ, यसको नेपालमा एक जनामात्र एजेन्ट छन्,’ पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीले भने, ‘चोर्ने वा लुट्ने खालका गतिविधि हुनेबितिकै सुरक्षा कन्ट्रोल रूपमा यसले जानकारी गराउँछ ।’ राजतन्त्रको बहिर्गमनको नौ महिनापछि २०६५ फागुन १६ मा संग्रहालय खुला गरिए पनि श्रीपेच भने त्यहाँभित्रको एक दराजमा लाहाछाप लगाएर थन्क्याइएको छ ।
सरकारले बर्सेनि छुट्याउने ५० लाखका बजेटले यो कार्य सम्पन्न हुन नसक्ने उनले बताए । उता संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले सात सदस्यीय नारायणहिटी दरबार विकास समिति गठन गरेर यो समस्याको हल खोजिने बताए । ‘समिति अभाव आवश्यक विधान र प्रक्रिया पूरा गर्न नसकेर श्रीपेचलाई प्रदर्शन गर्न नसकिएको हो,’ उनले भने । मन्त्रालयका सहसचिव जलकृष्ण श्रेष्ठले अर्थ मन्त्रालय यस दिशामा सकारात्मक रहेकाले आउने बजेटमा यो पर्ने विश्वास लिएको बताए । ‘सुन, चाँदी र हीरामा असर नपरे पनि हावा नआउने दराजभित्र श्रीपेच राखिँदा त्यसको प्वाख बिग्रन्छ, यस कारणले पनि यसलाई सुरक्षित वा खुला स्थलमा प्रदर्शनमा राख्नु त्यतिकै आवश्यक छ,’ उनले भने ।
No comments:
Post a Comment