News

Jan 16, 2010

फोरमसित वार्ता गर्न सरकारले तीन सदस्यीय समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, माघ २ आन्दोलनको तयारीमा रहेको मधेशी जनअधिकार फोरमसित वार्ता गर्न सरकारले शान्ति मन्त्री रकम चेम्जोङको संयोजकत्वमा मन्त्रीस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा संस्कृति मन्त्री डा.मिनेन्द्र रिजाल र कानुन मन्त्री प्रेमबहादुर सिंह सदस्य छन्। संविधानसभामा दलको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै उपेन्द्र यादवको नेतृत्वमा रहेको फोरमले माघको पहिलो सातादेखि आन्दोलन सुरु गर्ने धम्की दिँदै आएका बेला सरकारले वार्ता गर्न समिति बनाएको शान्ति मन्त्री चेम्जोङले जानकारी दिए। ‘फोरम आन्दोलनको तयारीमा छ, ऊसित वार्ता गर्न मेरै संयोजकत्वमा समिति बनेको छ’– शनिबार साँझ विराटनगरमा सञ्चारकर्मीसित कुरा गर्दै चेम्जोङले भने।‘अस्तिमात्रै सरकारले फोरमसित वार्ता गर्न समिति बनाएको छ’, मन्त्री चेम्जोङले भने- ‘हामी फोरमका मित्रहरुसित परामर्श र छलफलमा छौं, चाँडै वार्ता हुन्छ।’मन्त्री चेम्जोङले वार्ताबाट मागका विषयमा छलफल गर्न सरकार तयार रहेको बताए। उनले भने- संविधान बन्न थोरै समय बाँकी रहँदा आन्दोलन गरेर कसैको कल्याण हुँदैन, त्यसैले वार्तामा आउन फोरमलाई आग्रह गर्छु।मन्त्री चेम्जोङले सशस्त्र भूमिगत सङ्गठनसित वार्ता गर्नसमेत सरकारले वार्ता समितिलाई पूर्णता दिएको जानकारी दिए। यसअघि शान्ति मन्त्री चेम्जोङको एकल संयोजकत्वमा रहेका वार्ता समितिमा दुई मन्त्री थपिएका छन्। संस्कृति मन्त्री डा.रिजाल र उद्योग मन्त्री महेन्द्र राय यादव सदस्य रहेको चेम्जोङको समितिले सशस्त्र सङ्गठनसित वार्ता गर्ने म्यान्डेट पाएको उनले बताए।‘सशस्त्र भूमिगत सङ्गठनसित वार्ता गर्न समितिले पूर्णता पाएको छ, चाँडै उनीहरुसित वार्ताको वातावरण मिलाइनेछ’, शान्ति मन्त्री चेम्जोङले भने- वार्तामा रहेका सशस्त्र समूह इमानदारीपूर्वक सहमति पालना गर्नुपर्छ।

No comments: