लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतका विदेशमन्त्री एसएम कृष्णाले नेपालको तीनदिने भ्रमणको दोश्रो दिन शनिबार मुख्य प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग कुराकानी गरेका छन्। भारतीय प्रभावकै कारण सत्ताबाट बाहिरिनु परेको ठानेको माओवादीले आठ महिनाअघि सत्ताबाट बाहिरिएपछि भारतको उच्च राजनीतिक तहसंग गरेको यो पहिलो संवाद हो। भारतीय विदेशमन्त्रीलाई भेट्न उनी बसेको होटेलमा प्रचण्ड पुगेका थिए।प्रचण्डले छलफल 'राम्रो' भएको बताए।उनले भने, “आपसी संबन्धलाई नया उँचाईमा पु-याउन छलफल सकारात्मक भएको छ।“तर उनले त्यसको विस्तृत व्याख्या गरेनन्।उनका साथ विदेशमन्त्रीसंग भेटेका माओवादी अन्तर्राष्ट्रिय विभागका प्रमुख कृष्णबहादुर महराले वार्तामा सरकार परिवर्तनको विषय नउठेको बताए। तर बीबीसीसंग कुरा गर्दै उनले भने, “नेपालका अरु दलहरुले संविधानसभाको चुनावमा सबभन्दा ठूलो दललाई एकल्याएर लग्न खोजेका छन, कतै भारतले पुराना पार्टीहरुलाई विश्वास गर्न खोजेको र माओवादीलाई अविश्वास गर्न खोजेको हो कि भन्ने हाम्रो आशंका हामीले राख्यौं।“ नेपाल-भारत सीमानास्थित एकीकृत भन्सार चौकीको उदघाटन गर्न बिहान बीरगंज जाने कार्यक्रम रद्द भएपनि दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहेका विदेशमन्त्री एसएम कृष्णाले राष्ट्रपति रामवरण यादव र नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेका थिए। तर धेरैको चासो चाहीं माओवादी अध्यक्ष प्रचण्डसंग उनको भेटवार्ताप्रति थियो। राष्ट्रिय स्वाधीनताका लागि भन्दै भारत लक्षित आन्दोलन शुरु गरी विवादास्पद सीमा क्षेत्रहरुमा विरोध सभा र असमान भनिएका सन्धी संझौताहरु जलाएको माओवादीले यसअघि सोझै दिल्लीसंग कुरा गर्ने घोषणा गरेको थियो। नागरिक सर्वोच्चताको स्थापना गर्न र आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न भन्दै महिनौंदेखि चलाइएको आफ्नो आन्दोलनले कुनै परिणाम नदिएपछि प्रचण्डले अब दिल्लीसंग कुरा गर्न सार्वजनिक उदघोष गरेका थिए। उनको उक्त उदघोषपछि भारतीय विदेशमन्त्रीसंग भएको भेटवार्ताको कस्तो परिणाम हुनेछ त्यो थाहा पाउन प्रतीक्षा गर्नुपर्ने विश्लेषकहरुको भनाइ छ।
No comments:
Post a Comment