News

Jan 16, 2010

धरापमा जनताका गीत गाउने अधिकांश जनवादी गायकहरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पछिल्लो समयमा कतिपय गायक/गायिका माया-प्रेमकै गीत गाएर लाखौँ रुपैयाँ कमाउन सफल भएका छन् । तर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताका गीत गाउने अधिकांश जनवादी कलाकारको आर्थिक अवस्था भने दिनानुदिन जर्जर बन्दै गइरहेको छ । नेपालका अधिकांश जनवादी गायकलाई बिहान-बेलुकाको छाकटार्ने समस्याले पिरोलेको छ । जसका कारण जनवादी संगीत धरापमा पर्दै गएको छ । जनवादी गायनयात्रामा लागेका धेरैजसो स्वरकर्मी आर्थिक दुरवस्थाका कारण गायन पेसाबाटै पलायन भएका छन् भने गायनयात्रालाई निरन्तरता दिइरहेका अधिकांश कलाकारको आर्थिक अवस्था दयनीय छ । जनताका गीत गाउने कलाकारको आर्थिक अवस्था कमजोर हुँदै गएकाले आस्थाको संगीत पनि धरापमा परेको जनगायक जेबी टुहुरे बताउँछन् । पाँच दशकदेखि जनवादी गायनयात्रामा लागेका टुहुरे ऋणमा चुर्लुम्म डुबेका छन् । 'हाम्रो गीत सुनेर नेता बनेकाहरू अहिले महलमा छन्,' आक्रोश पोख्दै टुहुरे भन्छन्, 'तर हामी जनवादी गायक सधँै सडकमै भयौँ ।' तीन दशकअघिबाट निरन्तर जनवादी संगीतमा लागेका जीवन शर्माको अनुभव पनि टुहुरेको भन्दा फरक छैन । 'जनवादी कलाकारको आर्थिक स्थिति निकै कहालिलाग्दो छ ।' आफूसँग कुनै पनि भौतिक सम्पत्ति नभएको दाबी गर्दै गायक शर्मा भन्छन्, 'मसँग सम्पत्तिको नाममा जनताको पक्षमा गाएका गीतबाहेक अरू केही छैन । बिहान/बेलुकाको भोक कसरी टार्ने भन्ने समस्यामा छु ।' पाँच दशकअघिदेखि जनवादी संगीत अभियानमा लागेका रामेशको अवस्था पनि टुहुरे र शर्माकोजस्तै छ । रामेश आफूसँग नेपाली जनताको मायाभन्दा अरू सम्पत्ति नभएको बताउँछन् । क्रान्तिको आधारभूमि बनाइदिने जनवादी गीत र तिनका स्रष्टालाई राजनीतिक दलले सधैँ उपेक्षा गरेको अनुभव रामेशको छ । जनवादी संगीतकर्मीले जनताको पक्षमा हुने परिवर्तनका आन्दोलनमा क्रान्तिको मियोको भूमिका निभाए पनि सत्ता पाएपछि राजनीतिक दलहरूले कलाकारलाई उपेक्षा गर्ने गरेकाले जनवादी कलाकारको आर्थिक अवस्था दयनीय बन्न पुगेको मूल्यांकन अर्की जनवादी गायिका मधु गुरुङको छ । भन्छिन्, 'आफ्नो केही छैन । जनताको मायालाई नै सम्पत्ति ठानेर अघि बढेका छौँ ।' 'नेपालमा भएका आन्दोलन जनवादी कलाकारकै बलमा सफल भएका छन्,' लामो समयदेखि जनवादी संगीतकर्ममा लागिरहेका मणि थापा भन्छन्, 'राजनीतिक पार्टीले कलाकारलाई प्रयोग मात्रै गरेका छन् । आन्दोलन सफल भएपछि उनीहरूलाई भुल्छन् । कलाकारको योगदानको कदर गर्ने परम्परा उनीहरूमा छैन ।' जनवादी संगीतमा लाग्ने धेरै कलाकार नाजुक आर्थिक अवस्थाका कारण संगीत पेसा छाडेर गुमनाम भएका छन् । जनवादी गायनयात्रालाई निरन्तरता दिने जेबी टुहुरे, रामेश, रायन, रामकृष्ण दुवाल, जीवन शर्मा, मणि थापा, मधु गुरुङ, प्रवीण देवान, राजन राईलगायतका कलाकार अभावग्रस्त जिन्दगी भोग्दै जनताका गीत गाइरहेका छन् । यी जनवादी गायकलाई वामपन्थी राजनीतिक दलहरूले वेलैमा सहयोग नगरे आस्थाको संगीत धरापमा पर्ने जनगायक मणि थापा बताउँछन् ।

No comments: