लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किरातीहरूले शुक्रबार आफ्नो नयाँ वर्ष धुमधामसँग मनाएका छन् । किराती सांस्कृतिक मान्यताअनुसार शुक्रबारदेखि किरात समुदायको नयाँ वर्ष ऐले तेङ्बे ५०७० सुरु भएको छ । पूर्वीनेपालमा बसोबास बाहुल्य रहेको राई, लिम्बू, याक्खा र सुनुवारले १ माघलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ऐले तेङ्बेका अवसरमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात याख्खा सुनुवार र किरात याक्खा छुम्माको आयोजनामा राजधानीलगायत मुलुकभरि नै विभिन्न अन्तरक्रिया, खेलकुद र सांस्कृतिक कार्यक्रम गरिएको किरात राई यायोख्खाका महासचिव चन्द्रविक्रम राईले बताए । नेपालबाहेक किरातीको बसोबास रहेको बेलायत, हङकङ, सिंगापुरलगायतका देशमा समेत ऐले तेङ्बे मनाइएको बेलायबाट हेपेन्द्र राईले जानकारी दिए । किराती प्रथम राजा यलम्बरको पालादेखि मनाउन सुरु भएको ऐले तेङ्बे नेपालमा अहिले प्रचलनमा रहेको विक्रम सम्वतभन्दा तीन हजार चार वर्ष जेठो छ । किरातजन्य संस्थाहरूले ऐले तेङ्बेलाई राष्ट्रिय सम्बत घोषणा गर्न माग गर्दै आएका छन् । यसैबीच, बिहीबार किराती सम्बतलाई राष्ट्रिय सम्वत घोषणा गर्न माग गर्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा सुनुवार, किराँत याक्खा छुम्मा र किरात ऐले सम्बत् अध्ययन समितिले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए ।
No comments:
Post a Comment