News

Jan 16, 2010

अन्मिनले नेपालको शान्ति प्रक्रिया आशावादी स्थिति रहेको जनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालस्थित राष्ट्रसंघीय नियोग अन्मिनले नेपालको शान्ति प्रक्रियाको प्रगतिप्रति सावधानीपूर्वक आशावादी हुन सकिने स्थिति रहेको जनाएको छ। दलहरुले हालै साझा धारणा बनाउन खोजेकाले यस्तो आशा बढेको अन्मिनको भनाइ छ। दलहरुबीचको मतभेद र अन्तर्द्वन्द्वले गर्दा शान्ति प्रक्रिया भंग हुने खतरा बढेको भनी महासचिव बान की मूनले चिन्ता व्यक्त गरेको पर्सीपल्ट उनकै नेपालस्थित प्रतिनिधि अन्मिन प्रमुख करीन ल्याण्डग्रेनले केही आशाजनक टिप्पणी गरेकी छिन्। सुरक्षा परिषदमा महासचिव बान की मूनको निराशापूर्ण चिन्ताले भरिएको प्रतिवेदन पेश गरिएको तेश्रो दिन परिषदकै बैठकमा ल्याण्डग्रेनका भनाइहरु भने केही आशा जगाउने खालका थिए। संयोगवश उनको भनाइ नेपालका प्रमुख राजनीतिक दलहरुले महासचिव बानको चिन्ताप्रति देखाएको असहमतिसंग नजिक देखिएको छ यद्यपि शान्ति प्रक्रियामाथिको खतरा टरिनसकेको उनले बताएकी छिन्। उनका अनुसार दलहरुले हालैका आफ्ना अग्रसरता अनुसार काम गरेनन् र थाँती मुद्दाहरु सल्टाएनन् भने शान्ति प्रक्रियामा खतरा रहीरहनेछ।दलहरुले गरेका सकारात्मक अग्रसरताका रुपमा करीन ल्याण्डग्रेनले माओवादीद्वारा संसद अवरोध अन्त्य गरिनु, माओवादी लडाकुहरुको पुनर्स्थापन र समायोजन लगायतका मुद्दा सल्टाउन तीन ठूला दलले उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउनु र ४,००० अयोग्य लडाकुहरुको शिविरबाट बिदाइ प्रक्रिया शुरु गरिनुलाई उल्लेख गरेकी छिन्। उनले भनिन, “यी कदमहरु सशक्त रुपमा अगाडि बढाइए, नेपालको प्रजातान्त्रिक संक्रमणको अर्को चरणका निम्ति रचनात्मक कामहरु हुन सक्छन्।“ केही आशावादी देखिएपनि ल्याण्डग्रेनले भविष्यका बारे सावधान रहन पनि जोड दिएकी छिन्। उनको भनाइ छ, “माओवादीहरु शान्ति संझौतामा उल्लेख भए अनुसारको प्रजातान्त्रिक सिद्धान्तप्रतिको प्रतिबद्धताबाट पछि सरेको र सरकार महत्वपूर्ण सुधारहरु लागु गर्न इमान्दार नभएको भन्ने आशंका घटेको छैन।"

No comments: