News

Jan 17, 2010

नागरिक आन्दोलनले संविधानसभा भवनको प्रवेश द्वारमा धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्धारित समयभित्रै नयाँ संविधान जारी गर्नको लागि दवाब दिन नागरिक आन्दोलनले संविधानसभा भवनको प्रवेश द्वारमा धर्ना दिएको छ। आइतबार १ घण्टा दिएको धर्नामा नागरिक अगुवाहरू देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, भरत प्रधान, श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला लगायत सहभागी थिए। संविधान निर्माण र शान्ति प्रक्रिया गम्भीर संकटमा पर्न थालेकाले दवाब दिन धर्ना आयोजना गरिएको अगुवा पाण्डेले बताए। धर्नास्थलमा वितरित अपीलमा पाण्डेले 'समयमै संविधान निर्माण गर्ने र शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने कामभन्दा सत्तामा कसरी पुग्न र टिकीरहन सकिन्छ भन्नेमा प्रमुख दलहरू केन्द्रित हुन थालेका' प्रति चिन्ता व्यक्त गरेका छन्। उनले जनआन्दोलनको मर्म र विस्तृत शान्ति सम्झौताले सहमतिको राजनीति परिकल्पना गरेको उल्लेख गर्ने पाण्डेको मूल्यांकन छ, 'विस्तृत शान्ति सम्झौताको पालनाभन्दा उल्लंघनका घटनामा सत्तारुढ दलहरू र माओवादीबीच प्रतिस्पर्धा बढ्दो छ।' धर्ना कार्यक्रममा पाण्डेले समयमा जनताले चाहेजस्तो अग्रगामी संविधान जारी गर्न माग गर्दै भने, 'यो राष्ट्र, राज्य, संविधान र अब बन्ने नेपाल मेरो हो भनेर जनताको विश्वास जित्नुपर्छ।' संविधान निर्माणमा सहयोग पुगोस् भन्ने भावले आफूहरूले दवाब दिंदै आएको उनले बताए। अस्वस्थ पाण्डे धर्नामा लौरो टेकेर आएका थिए।धर्नालाई संबोधन गर्दै मानवअधिकारवादी कृष्ण पहाडीले सहमतिको राजनीति अघि बढाउन आग्रह गर्दै सभासद्हरूलाई आग्रह गरे, 'समयमा संविधान जारी गर्नु भएन भने तपाईंहरू असफल हुनुहुन्छ।' उनले परिवर्तनमुखी संविधान जारी हुनुपर्ने बताए।

No comments: