News

Jan 16, 2010

जनवादी वर्कस पार्टीले गाविस सचिवसँग १ देखि ३ लाख चन्दा दिन धम्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भोजपुर, माघ २- सशस्त्र भूमिगत किरात जनवादी वर्कस पार्टीले जिल्लाका सम्पूर्ण गाविस सचिवसँग १ देखि ३ लाख रुपैयाँसम्म चन्दा दिन धम्की दिएको छ। चन्दा नदिए कारबाही गर्ने धम्कीसहितका पत्र पाएपछि सचिवहरु गाविस जान डराएका छन्। १० दिनदेखि यस्ता पत्र आउन थालेको एक सचिवले बताए। वर्कसका केन्द्रीय कोषाध्यक्षले नाम नखुलाई हस्ताक्षर गरी पठाएको पत्रमा चन्दा नदिएमा किरात राज्यको विरोधी ठहर गरेर कारबाही गर्ने धम्की दिइएपछि गाविस सचिवहरुलाई आर्थिक वर्ष ०६६/६७ को बजेट कार्यान्वयन गर्नका लागि गाउँ परिषद् गर्नसमेत समस्या भएको छ। वर्कस कार्यकर्ताले गाविस सचिवसँग १ लाखदेखि तीन लाखसम्म अनिवार्यरुपमा चन्दा दिन भनेका छन्। १० दिनअघि देखि चन्दा पत्र पठाइएपछि सो कुराको जानकारी प्रमुख जिल्ला अधिकारीलाई गराइसकेको एक गाविस सचिवले बताए। जिल्लाको दक्षिणी क्षेत्रको एक गाविसका सचिवले वर्कसको चन्दा आतङ्कका कारण गाउँमा गएर गाउँ परिषद् गरी बजेट निकाशा गराउनसमेत समस्या भएको बताए। वर्कसले जिल्लाका ६३ वटै गाविसका सचिवलाई अनिवार्य चन्दा दिन भन्दै हुलाकमार्फत् पत्र पठाएको थियो। वर्कसको चन्दा आतङ्कबारे गाविसका सचिवहरुले आफूलाई जानकारी दिएको बताउँदै प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले गाविस सचिवहरुको समस्याबारे जिल्लास्थित सुरक्षा निकाय, राजनीतिक दल र अन्य सरोकारवाला पक्षसँग छलफल गरिरहेको बताए।

No comments: