लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ चैत : सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकाय तथा निजामती सेवाका उच्च पदाधिकारीको निधनमा दिने सम्मानसम्बन्धी नयाँ व्यवस्था गरेको छ । नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारले नयाँ व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्थाअनुसार राष्ट्रपतिको निधन भएमा सम्मानस्वरूप २१ तोपको सलामी दिइनेछ । राजतन्त्रकालमा राजालाई पनि २१ तोपको सलामी दिने व्यवस्था थियो । अन्त्येष्टिको स्कर्टका लागि प्रमुख सेनानीको नेतृत्वमा नेपाली सेनाबाट तीन गुल्म तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा एक-एक गुल्म खटाइने भएको छ ।उपराष्ट्रपति र प्रधानमन्त्रीको निधनमा भने १९ तोपको सलामी दिने निर्णय भएको छ । पहिलो प्रधानमन्त्रीको निधनमा १६ तोपको सलामी दिने व्यवस्था थियो । स्कर्टमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा दुई गुल्म तथा प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्व र सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षकको नेतृत्वमा एक-एक समूह रहनेछ । प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष तथा व्यवस्थापिका संसद्का सभामुखलाई १७ तोपको सलामी दिइनेछ । सरकारले पूर्वराष्ट्रपतिलाई १५ तोप र उपराष्ट्रपतिलाई १३ तोपको सलामी दिने निर्णय गरेको छ । ०४७ साल १ वैशाखपछिका पूर्वप्रधानमन्त्रीहरूले १३ तोपको सलामी पाउनेछन् । पहिला पूर्वप्रधानमन्त्रीको निधनमा तोप सलामी दिने व्यवस्था थिएन । यसैगरी, सरकारले पहिलोपटक निजामती सेवाका विशिष्ट श्रेणीका पूर्वपदाधिकारीलाई पनि मृत्युपछि गार्ड सलामी दिने निर्णय गरेको छ । पूर्व मुख्य सचिव, गृहसचिव र रक्षासचिवलाई सुरक्षाकर्मीबाट गार्ड सलामी दिइने भएको हो । मृत्युपर्यन्त गार्ड सलामी पाउनेमा पूर्वप्रधानन्यायाधीश, संविधानसभाका पूर्वअध्यक्ष, व्यवस्थापिका संसद्का सभामुख, १ वैशाख ०४७ पछिका पूर्वमन्त्रीहरू रहनेछन् । सरकारले बहालवाला उपप्रधानमन्त्री, मन्त्री, संविधानसभाका उपाध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश र निजामती सेवाका विशिष्ट श्रेणीका अधिकारीहरूलाई अन्तिम संस्कारमा सलामी दिने निर्णय गरेको छ । त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख तथा सभाध्यक्षको निधनमा एक दिन सार्वजनिक बिदा दिइनेछ । नेपालसँग दौत्य सम्बन्ध कायम भएका मित्रराष्ट्रहरूका राष्ट्राध्यक्ष र सरकार-प्रमुखको निधन हुँदा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ । सरकारले १ वैशाख ०६७ देखि चैत मसान्तसम्ममा शनिबार र पर्वबिदा गरी एक सय दिन बिदा दिने निर्णय गरेको छ । शनिबार ५२ दिन र अन्य चाडपर्व गरी ४८ दिन बिदा परेका छन् ।
बहालवाला राष्ट्रपति
२१ तोपको सलामी एक दिन सार्वजनिक बिदा
बहालवाला उपराष्ट्रपति
१९ तोपको सलामी एक दिन सार्वजनिक बिदा
बहालवाला प्रधानमन्त्री
१९ तोपको सलामी एक दिन सार्वजनिक बिदा
प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष तथा व्यवस्थापिका संसद्का सभामुख
१७ तोपको सलामी एक दिन सार्वजनिक बिदा
पूर्वराष्ट्रपति
१५ तोपको सलामी
पूर्वउपराष्ट्रपति
१३ तोपको सलामी
०४७ सालपछिका प्रधानमन्त्री
१३ तोपको सलामी
No comments:
Post a Comment