News

Apr 4, 2010

नक्कली प्रमाणपत्र बनाउनेहरु पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २१,तीन वर्षदेखि उच्च शिक्षाका नक्कली शैक्षिक प्रमाणपत्रको कारोबारमा सक्रिय गिरोहका चार सदस्य पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरले त्रिभुवन विश्वविद्यालय, उच्च माध्यामिक शिक्षा परिषदबाट जारी हुने शैक्षिक प्रमाणपत्रको नक्कल प्रति निर्माण गर्ने कारोबारमा सक्रिय समूहका सदस्यलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्रहरीले धादिङका लक्ष्मण श्रेष्ठ, मोरङका लेखनाथ भट्टराई र हेमचन्द्र दाहाल र गुल्मीका शोभाकर खनाललाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट त्रिभुवन विश्वविद्यालयबाट जारी हुने शैक्षिक प्रमाणपत्र, उच्च माध्यामिक शिक्षा परिषद्को शैक्षिक प्रमाणपत्र र ती प्रमाणपत्रमा सुरक्षाका लागि प्रयोग गरिने होलोग्रामसमेत बरामद गरेको छ।अनुसन्धानका क्रममा उनीहरु तीन वर्षदेखि काठमाडौंमा बसेर विभिन्न शैक्षिक प्रमाणपत्र, सवारीचालक अनुमतिपत्रलगायतका सरकारी र गैरसरकारी संस्थाको नक्कली छाप र प्रमाण बनाएर कारोबारमा सक्रिय रहेको खुलेको प्रहरी अधिकारीले दाबी गरेका छन्।अनुसन्धानका क्रममा उनीहरुले नेपालका प्रमुख शहरमा आफ्नो सञ्जाल विस्तार गरिसकेको खुलेको एक प्रहरी अधिकारीले बताए। पक्राउ परेका अभियुक्तले प्रहरीसमक्ष होलोग्राम भारतमा छपाई गरेर ल्याउने र शैक्षिक प्रमाणपत्र भने नेपालमै छपाई गर्ने गरेको बताएका छन्।

No comments: