News

Oct 12, 2010

डाउनलिंक अनुमति नलिएका च्यानल बन्द गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ असोज,सरकारले डाउनलिंक अनुमति नलिई नेपालभित्र कार्यक्रम प्रसारण गरिरहेका विदेशी संस्थाको प्रसारणमा प्रतिबन्ध लगाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । विदेशी प्रसारण संस्थाको अनधिकृत र अश्लील प्रसारण रोक्न सञ्चार मन्त्रालयले गृह मन्त्रालयमार्फत ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई त्यस्तो निर्देशन दिएको हो । कसैले अनुमति नलिई कार्यक्रम प्रसारण गरे/गराए त्यसमाथि स्थानीय प्रशासनले रोक लगाउने कानुनी व्यवस्था छ । सञ्चार मन्त्रालयले हालसम्म ९५ विदेशी प्रसारण संस्थालाई कार्यक्रम डाउनलिंक गरी प्रसारण अनुमति दिएको छ । केबल टेलिभिजन सञ्चालकले अहिलेसम्म देशभर विभिन्न मुलुकका करिब १ सय २५ च्यानललाई नेपालमा डाउनलिंक गरी दर्शकमाझ पुर्‍याएको तथ्यांक मन्त्रालयलाई उपलब्ध गराएका छन् । तर, अहिलेसम्म ९७ च्यानलले मात्रै डाउनलिंक अनुमतिका लागि सञ्चार मन्त्रालयमा निवेदन दिएका छन् ।
मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव महेन्द्र गुरागाईंले कुनै पनि विदेशी संस्थाले डाउनलिंक अनुमति नलिई प्रसारण गरेको पाइए जुनसुकै वेला त्यस्तो प्रसारणमाथि प्रतिबन्ध लगाइने बताए । 'डाउनलिंकको अनुमति नलिई प्रसारण भइरहेका च्यानलको अनुगमन गरिरहेका छौँ,' उनले भने, 'दसँैपछि अनधिकृत प्रसारणमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउँछाँै ।' उनले ४ महिनाभित्रमा त्यस्तो प्रसारण व्यवस्थित बनाइने दाबी गरे । कसैले अनुमति नलिई कार्यक्रम प्रसारण गरे प्रसारण सामग्री जफतलगायत हदैसम्मको कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ । अनुमतिका लागि विज्ञापनसहित प्रसारण गर्न चाहने पेई च्यानलले प्रतिवर्ष ५० हजार रुपैयाँ र विज्ञापनरहित नन्पेई च्यानलले भने २५ हजार रुपैयाँ राजस्व सरकारलाई बुझाउनुपर्छ ।
सञ्चार मन्त्रालयले भारतबाट प्रसारित र भारतीयकै लगानी रहेको नेपाली भाषाको 'नेपाल वान' टेलिभिजनलाई पनि नेपालमा डाउनलिंक गरी प्रसारण अनुमति दिएको छैन । नेपाल वानका विषयमा छानबिन गर्न सञ्चार मन्त्रालयले सहसचिव महेन्द्र गुरागाइर्ंको अध्यक्षतामा गठन गरेको छानबिन समितिले नेपाल वान टेलिभिजनसँग जोडिएका केही विषय टुंग्याएर मात्रै डाउनलिंकको अनुमति दिन सुझाब दिएको थियो । समितिले भारतबाट प्रसारण भए पनि टेलिभिजनले नेपालबाट प्रसारण भएजस्तो भाषा-शैली प्रयोग गरेर दर्शकलाई भ्रममा पारेको, विदेशी लगानी र विदेशबाटै प्रसारण भए पनि नेपालको नाम टेलिभिजनको लोगोमै राखेकोलगायत विषय नटुंगिएसम्म अनुमति नदिन सुझाब दिएको हो ।
मन्त्रालयका अनुसार डिस्कभरी च्यानल, एनिमल प्लानेट, डिस्कभरी ट्राभल्स एन्ड लिभिङ, डिस्कभरी साइन्स, टेन स्पोर्ट, सहारा वान, सहारा फ्यामेली, बिबिसी वल्र्ड न्युज, एनडी टिभी-२४, एनडी टिभी प्रोफिट, एचबिओ, सिनेम्याक्स, नाइन एक्स-एम, नेसनल जोग्राफी, फक्स हिस्ट्री एन्ड इन्टरटेनमेन्ट, दि एमजिएम, आजतक, हेडलाइन टुडे, इएसपिएन, स्टार स्पोर्टस्लगायत च्यानलाई डाउनलिंक अनुमति दिएको छ ।

No comments: