News

Oct 13, 2010

एकै व्यक्ति कतिपटकसम्म हुन पाउने प्रधानमन्त्री ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २७- देशको कार्यकारी प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति जो हुने व्यवस्था नयाँ संविधानमा गरिए पनि उक्त पदमा एकै व्यक्ति कतिपटकसम्म हुन पाउने भन्ने व्यवस्था प्रष्ट रूपमा उल्लेख गरिनुपर्ने विषयमा प्रमुख दलका सभासद्हरू एकमत देखिएका छन्। शासकीय स्वरुपलगायत नयाँ संविधानका विवाद 'टुंगो लगाउन' गठित कार्यदलको छलफलको 'एजेन्डा' मा भने उक्त विषय छैन। एकीकृत माओवादी, कांग्रेस, एमाले, फोरम संसदीय दलका नेतालगायत कार्यदलको पहिलो बैठक संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा बुधबार बस्दैछ।
संविधानसभामा रहेका सबै २७ दलका संसदीय दलका नेताहरूको बैठकमा प्रतिवेदन पेश गर्ने गरी गठित कार्यदलले छलफल गर्ने शासकीय स्वरूपका मतभेदका ९ प्रश्नमा देशको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीमा एकै व्यक्ति कतिपटकसम्म चुनिन पाउने भन्ने प्रश्न समाविष्ट छैन।शासकीय स्वरुपका बारेमा माओवादीले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख हुने व्यवस्था बनाउनुपर्ने अडानमा छ। कांग्रेस भने 'सुधारिएको संसदीय व्यवस्था' को पक्षमा छ। एमालेले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक प्रधानमन्त्री हुने व्यवस्था प्रस्ताव गरेको छ।
माओवादीले एकै व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने व्यवस्था गर्न प्रस्ताव गरे पनि एमाले र माओवादी कार्यकारी प्रमुखको 'टर्म' बारे मौन छन्। राष्ट्रपति कार्यकारी प्रमुख हुने व्यवस्था भएका मुलुकका संविधानमा यस्तो उल्लेख गर्ने गरिए पनि संसदले चुनेको प्रधानमन्त्रीमा एकै व्यक्ति यति पटकभन्दा हुन नपाउने उल्लेख गर्ने चलन छैन।

No comments: