News

Oct 22, 2010

प्रधानसेनापतिद्वारा १० देशका सेना प्रमुखसँग छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ५,दक्षिण कोरिया भ्रमणमा प्रधानसेनापति छत्रमानसिंह गुरूङले विभिन्न देशका सेना प्रमुखहरूसँग भेटघाट गरेका छन्। सेनापति गुरूङले भारत, क्यानाडा, पाकिस्तान, दक्षिण कोरिया, जापान, मालदिभ्स, बंगलादेश, थाईल्याण्ड र श्रीलंकाका सेना प्रमुख तथा प्रतिनिधिहरुसँग भेटघाट गरेका हुन्। भेटका अवसरमा आपसी हित तथा चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। कार्तिक १ गतेबाट सियोलमा शुरु भएको १३ औं वार्षिक एशिया-प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन भाग लिन उनी असोज ३१ गते त्यहाँ गएका थिए। सेनापति गुरूङ निजामती-सैनिक सहयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्यानलमा सहभागी भए। छलफलको क्रममा उनले निजामती-सैनिक सहयोगको क्षेत्रमा नेपाली सेनाको अनुभवहरु राखेका थिए। सम्मेलन अवधिमा एशिया प्रशान्त क्षेत्रको सुरक्षा वातावरणमा नै प्रभाव पार्ने प्रकृतिका घटनाहरु र तिनका आयामहरु, मानव सृजित तथा प्राकृतिक प्रकोपहरुमा बहुराष्ट्रिय सहयोगको गुणस्तर अभिबृद्वि तथा त्यसको असरदार योजना तर्जुमा तथा 'हरित विकास' र यसका लागि राष्ट्रिय सेनाको भूमिकालगायतका छलफल तथा अन्तरक्रियामा गुरूङ सहभागी भएका थिए। सम्मेलनमा दक्षिण एशियाको समुद्रीय तथा क्षेत्रीय सुरक्षा लगायतका विषयमा छलफल भएको थियो। गुरूङ कार्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ।

No comments: