News

Oct 27, 2010

अफगानिस्तानको जेलमा ७० नेपाली परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ कात्तिक,दलाललाई पाँच लाखसम्म बुझाएर रोजगारीका लागि अफगानिस्तान पुगेका ७० नेपाली युवा काबुलको जेलमा परेका छन् । उनीहरूको उद्धारका लागि आफन्तले सरकारसँग औपचारिक अनुरोध गरेका छन् । आफन्तहरूका अनुसार ती नेपाली फरक-फरक समयमा भारतको नयाँदिल्लीस्थित अफगानी दूतावासमार्फत भिजिट भिसा लिई काबुल पुगेका हुन् । रोजगारीका लागि अफगानिस्तान सरकारले प्रतिबन्ध लगाए पनि दलालहरूले पैसाको लोभमा नेपाली युवाहरू लगातार पठाइरहेका छन् ।'मेरो भाइ काम पाइन्छ भनेर गएको हो, जेलमा परेछ, यहाँबाट लैजाने दलालहरूलाई काठमाडौंमा खोज्यौँ, तर उनीहरू पनि बेपत्ता छन्,' काबुलस्थित जेलमा रहेका वासु लामिछानेका दाजु सोमनाथ लामिछानेले नयाँ पत्रिकासँग भने । उनका अनुसार त्यहाँ लगिएका नेपालीले चारदेखि पाँच लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएका थिए ।
आफन्तहरूका अनुसार जेलमा रहेकाहरूले दिनमा एउटा रोटी मात्रै पाउँछन् । 'दिनमा एउटा मात्रै रोटी खान दिएर जेलमा छौँ भन्दै भाइले फोन गरेको थियो,' लामिछानेले नयाँ पत्रिकासँग भने । गत जेठदेखि भदौसम्म गरी काठमाडौंको ओएसिस म्यानपावरमार्फत भारत हुँदै त्यहाँ लगिएका उनीहरूले न त रोजगारी पाए न घर र्फकन ।
पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासलाई अफगानिस्तान सरकारसँग सम्पर्क गरी जेलमा रहेका ७० नेपालीको अवस्था पत्ता लगाउन मंगलबार नै निर्देशन दिइएको परराष्ट्र स्रोतले जनाएको छ । 'ती कामदार जानीजानी त्यसतर्फ रोजगारीमा गएको देखिन्छ,' परराष्ट्रका एक उच्च अधिकारीले भने, 'श्रम स्वीकृति नै नभएको देशमा जानु ठीक थिएन, तैपनि इस्लामावादस्थित नेपाली दूतावासबाट उद्धारका लागि पहल हुनेछ ।'

No comments: