News

Oct 12, 2010

सेना समायोजन विशेष समितिको बैठक निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लडाकुको समायोजन र सचिवालय गठनका विषयमा सेना समायोजन विशेष समितिमा अझै सहमति जुट्न सकेको छैन ।आज प्रधानमन्त्री कार्यालयमा बसेको समितिको बैठकमा कार्यदलले तयार गरिरहेको माओवादी लडाकुको समायोजन पुनर्स्थपना कार्यतलिकाका विषयमा विवाद देखिएको हो ।लडाकु समायोजन, पुनर्स्थापन तथा कार्ययोजना बनाउनका लागि गठित कार्यदलले आन्तरिक सहमति हुन नसक्दा प्रतिवेदन तयार गर्न सकेको छैन । कार्ययोजना तयार पार्न गठित कार्यदलले ठोस काम गर्न नसकेपछि सेना समायोजन सम्बन्धी कार्ययोजनाबारे मुख्य दलका शीर्ष नेताबीच छलफल हुने भएको छ ।बैठकमा समायोजनको कार्ययोजनाबारे प्रधानमन्त्री माधवकुमार नेपालले मुख्य दलका नेतासँग परामर्श गर्ने सहमति बनेको माओवादी नेता वर्षमान पुन अनन्तले जानकारी दिनुभयो । एकीकृत नेकपा माओवादीले समायोजनका लागि ल्याएका ३ वटा प्रस्ताव कांग्रेस र एमालेले अस्वीकार गरेपछि कार्यदलले निर्धारित समयभित्र कार्ययोजना तयार पार्न नसकेको हो ।माओवादीले नयाँ मापदण्ड बनाएर समायोजन प्रक्रिया शुरु गर्नुपर्ने अडान राख्दै आएको छ भने कांग्रेस र एमालेले सुरक्षा निकायका अहिलेकै मापदण्ड अपनाउनुपर्ने बताउँदै आएका छन् । सरकार र माओवादीबीच ४ महिनाभित्र समायोजन प्रक्रिया पुरा गर्ने सहमति भएपनि लडाकूलाई सरकारको मातहतमा ल्याउने संयन्त्र निर्माण लगायत विषयमा समझदारी बन्न सकेको छैन ।एमाले महासचिव ईश्वर पोख्रेलको संयोजकत्वमा कांग्रेसका डा.रामशरण महत र माओवादीका वर्षमान पुन अनन्त सदस्य रहेको कार्यदल गठन भएको थियो । चार दिनभित्र कार्यतालिका तथा कार्ययोजना बुझाउन भनिए पनि अझै तयार भैसकेको छैन । विशेष समितिको अर्को २८ गते फेरि बस्ने तय भएको छ ।

No comments: