News

Oct 12, 2010

सीता एयरको 'डोर्नियर २२८' जहाज दुर्घटनाग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोलुखुम्बु (लुक्ला), असोज २६- काठमाडौँबाट लुक्लाका लागि उडेको सीता एयरको 'डोर्नियर २२८' जहाज लुक्ला विमानस्थलमा अवतरणका क्रममा आज बिहान ८:४० मा दुर्घटनाग्रस्त भएको छ। यात्रुहरु बोकेर काठमाडौँबाट उडेको सिता एयरको नाइन एन एबी जहाज ब्रेक फेल भएर विमानस्थलको भित्तामा ठोकिएको सीता एयरले जनाएको छ। जहाज भित्तामा ठोक्किएपछि अगाडिको भागमा क्षति पुगेको छ। अगाडिको भाग कुच्चिएर क्षतिग्रस्त बनेपनि जहाजमा सवार चालक दलका सदस्य र यात्रुहरु भने सकुशल छन्। जहाजमा चालक दलका ३ जना सदस्य नेपाली र ११ जना विदेशी गरी १४ जना यात्रु सवार थिए। दुर्घटनाको समयमा लुक्ला विमानस्थलमा नै रहेका पत्रकारहरुलाई ठोक्किएको विमानको फोटो खिच्न समेत एयरलाइन्सले प्रतिबन्ध लगाएको थियो। जहाज दुर्घटना हुँदा लुक्ला विमानस्थलमा रहेका सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुदमकुमार सिजापतिले ठूलो मानवीय क्षतिबाट बचेको प्रतिक्रिया दिएका छन्। स्मरणीय छ, २०६५ सालको विजया दशमीको नवरात्री कै समयमा लुक्ला विमानस्थलमा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना यात्रुको मृत्यु भएको थियो। केही समय अगाडि लुक्ला कै लागि काठमाडौँबाट उडेको अग्नी एयरको विमान मकवानपुरको शिखापूरमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै यात्रुको ज्यान गएको थयो।

No comments: