News

Oct 29, 2010

कांग्रेस विधान संशोधनमा देउवाको असहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ कात्तिक,पार्टीको पहिलो बैठकमा नै विधान संशोधनका लागि समिति गठन भएपछि सभापतिमा पराजित नेता शेरबहादुर देउवाले असहमति जनाएका छन् । बिहीबार विधान संशोधनका लागि भएको छलफलमा भाग लिँदै नेता देउवाले तत्काल विधान संशोधन गर्न नहुने धारणा राखेका हुन् । देउवाले महासमितिको बैठकले हालै तयार पारेको विधान कार्यान्वयन नै नगरी संशोधन गर्न नहुने भन्दै एकपटक सो विधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए । विधानलाई पूर्ण रूपमा लागू गरेपछि मात्र समस्या र कठिनाइ आँैल्याउन सकिने भन्दै महाधिवेशनको बन्दसत्रमा सीमित सदस्य र जिल्ला सभापतिले गरेको आग्रहका भरमा विधान संशोधन गर्न नहुने जिकिर गरेको स्रोतको दाबी छ ।
महाधिवेशन सकिएको एक महिनापछि बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले नीति तथा कार्यक्रम परिमार्जन, विधान संशोधन र पार्टीको नियमावली मस्यौदाका लागि तीनवटा छुट्टाछुट्टै समिति गठन गरेको छ । महाधिवेशनको बन्दसत्रले नीति तथा कार्यक्रममाथि महाधिवेशन प्रतिनिधिले दिएको सुझाबलाई समेटेर पारित गर्न महेश आचार्यको संयोजकत्वमा एनपी साउद, दिलेन्द्रप्रसाद बडू, मनमोहन भट्टराई, रत्ना शेरचन, मिनाक्षी झा र महेन्द्र यादव सदस्य रहेको समिति गठन गरेको छ । बैठकले विधान संशोधनका लागि कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा दीपकुमार उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेको समिति गठन गरेको छ भने पार्टीको नियमावली मस्यौदाका लागि अर्जुननरसिंह केसीको संयोजकत्वमा आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, पुष्पा भुसाल, र सुरेन्द्र पाण्डे सदस्य रहेको समिति गठन गरेको छ । यस्तै बैठकले महाधिवेशनबाट पारित विभिन्न प्रस्ताव, निर्वाचन समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदनका साथै भोजन तथा आवास समितिको प्रतिवेदनलाई पारित गरेको छ । बैठकको प्रारम्भ गर्दै सभापति कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाउँदै आगामी चुनौतीको सामना गर्ने गरी संगठन विस्तारमा लाग्न केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिएका थिए । कोइरालाले पार्टीलाई अनुशासित पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा कांग्रेस संस्थागत ढंगबाट अघि बढ्ने धारणा राखेका थिए ।

No comments: