News

Oct 23, 2010

पञ्चायत फर्कन सक्ने केसीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्घाखाँची, कार्तिक ६ - राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले बाँकी सात महिना भित्रमा संविधान निर्माण हुन नसके पञ्चायत फर्कन सक्ने चेतावनी दिएका छन् । जनमोर्चाले शनिबार अर्घाखाँचीको रानीगैरामा गरेको सभा तथा साँस्कृतिक कार्यक्रलाई संबोधन गर्दै नेता केसीले ठुला दलहरुकै कारण देशले निकास पाउन नसकेको आरोप लगाए । उनले विदेशीको इसारामा र दवावमा सरकार तथा ठुला दल चलेकाले प्रधानमन्त्री चयन हुन नसकेको पनि दावी गरे । उनले माओवादीले बहुमतको सरकारलाई राजीनामा गराएर र एमालेले प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेर देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए । 'निरंकुश ज्ञानेन्द्र शाहलाई हटाउँदा जसरी सहकार्य गरेर सबै मिलेका थियौ, अब सरकार र संविधान बनाउँदा पनि त्यस्तै मिलेर जानुपर्दछ' उनले भने । उनले ठुला दललाई सरकार गठन र संविधान बनाउने चिन्ता नभएको उल्लेख गर्दै विदेशीको इसारामा चलेर नेपाललाई बदनाम र वैदेशिक हस्तक्षेप बढाउन उद्दत रहेको आरोप लगाए । उनले संघियताले देश टुक्रिएर देश र राष्ट्र विहीन हुने उल्लेख गर्दै संघीयताको खारेजीको माग गरे । संघीयतामा विभाजन नगरी गाविस, नगरपालिका, जिल्ला एवं स्थानीय निकायलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

No comments: