News

Oct 11, 2010

पौडेललाई आफ्नैले मत दिन छाडे / निर्वाचन दशैंपछि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री चयनका लागि भएको बाह्रौं पटकको निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आफ्नै सभासद्बाट पनि मत नपाएका कारण पहिलाभन्दा कम मत पाएर पराजित हुनुभएको छ। व्यवस्थापिका संसद्मा नेपाली कांग्रेसको १ सय १४ मत भएकोमा आइतबार भएको बाह्रौं चरणको निर्वाचनमा पौडेलले ८९ मत पाउनुभएको थियो। बडादशैं प्रारम्भ भइसकेकाले अबको निर्वाचन कात्तिक ९ गते मात्र हुने कार्यतालिका छ। निर्वाचनपूर्व नै सहमति खोज्नका लागि आइतबार भएको प्रमुख तीन दल नेपाली कांग्रेस माओवादी र एमालेको बैठक विनानिष्कर्ष टुंगिएपछि बाह्रौं चरणको निर्वाचन भएको थियो। तीनदलीय बैठकमा नेपाली कांग्रेसले सहमतिका आधार तय भएपछि मात्रै आफ्ना उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता लिने अडान दोहोर्याएको थियो भने एमाले र माओवादीले पछि सहमति खोज्ने गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।तीनदलीय सहमति नभएपछि भएको निर्वाचनमा पौडेलको विपक्षमा १ मत र तटस्थमा २९ मत परेका थिए। निर्वाचनप्रकि्रयामा पहिलाझैं प्रमुख दल माओवादी एमाले र अरु केही दलले भाग लिएका थिएनन्। साउन ५ गतेबाट शुरु भएको प्रधानमन्त्रीको निर्वाचनप्रक्रियामा एमालेले शुरुदेखि नै भाग लिएको छैन भने क्रमशः भाग नलिने दलहरुको संख्या बढ्दै गएको छ। दलहरुले निर्वाचनप्रक्रियामा सहभागिता नजनाउँदा आवश्यक गणपूरक संख्या पनि नपुगी निर्वाचन हुने गरेको छ। गणपूरक संख्या पुग्न १ सय ५० मत आवश्यक पर्नेमा १ सय १९ जना सभासद् मात्रै निर्वाचनप्रक्रियामा सहभागी रहेका थिए। कांग्रेसकै सभासद्हरुको पनि मत नपाएकोमा प्रश्न गर्दा उम्मेदवार पौडेलले सबै सभासद्हरु दशैंका कारण जिल्ला गइसकेको अवस्थामा यो निर्वाचन केवल माओवादीको रहर पुर्याउनका लागि मात्रै सभामुखले गराएको बताउनुभयो।

No comments: