News

Oct 21, 2010

माओवादीले दलहरूसँगको छलफलमा तीव्रता दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३ कात्तिक,माओवादीले राजनीतिक गतिरोध हटाउन अन्य दलहरूसँगको छलफलमा तीव्रता दिने भएको छ । माओवादीले प्रधानमन्त्रीको १३औँ चरणको चुनावअघि नै दलहरूबीच सार्थक संवाद गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास नयाँ बजारमा बुधबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले नयाँ सरकार गठन, संविधान निर्माण र शान्तिप्रक्रियामा सहमति जुटाउन अन्य राजनीतिक दलहरूसँगको संवादलाई तीव्रता दिने निर्णय गरेको हो ।'राजनीतिक गतिरोधको निकास खोज्न दलहरूबीचको संवादलाई तीव्र बनाउनुपर्छ,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, 'त्यसका लागि पार्टीले गम्भीरतापूर्वक पहल गर्नेछ ।' बैठकले संविधान निर्माणका विवादित मुद्दामा सहमति खोज्न पार्टी अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक कार्यदलको कार्यलाई तीव्रता दिने निर्णयसमेत गरेको छ । सहमति खोज्न कार्यदलको कामलाई प्रभावकारी बनाउने निर्णय भएको उपाध्यक्ष प्रकाशले बताए । उनले भने, 'संविधान निर्माणका मुद्दाहरूमा सहमति खोज्न कार्यदलको कामलाई प्रभावकारी बनाइनेछ ।' माओवादीले कात्तिक मसान्तभित्र पनि सहमति नजुटे बजेटको वैकल्पिक उपायबारे सोच्न सकिने, तर अहिलेको काम चलाउ सरकारलाई पूर्ण बजेट प्रस्तुत गर्न नदिने मंगलबारको बैठककै निर्णयलाई निरन्तरता दिएको छ । बजेटका लागि अनुमति दिइए राजनीतिक गतिरोधका अन्य विषयमा दलहरूबीच सहमति खोज्न कठिन हुने बैठकको निष्कर्ष छ । 'बजेटका लागि अनुमति दिँदा दलहरू समस्या समाधानतिर गम्भीर नबन्न सक्छन्, जसले झन् भयावह समस्या ल्याउन सक्छ भन्ने हाम्रो दृष्टिकोण हो,' नेता प्रकाशले भने, 'राजनीतिक विषयमा सहमति र नयाँ सरकार गठन गरी त्यसैले बजेट ल्याउनुपर्छ ।' बजेटका लागि वैकल्पिक उपाय सोच्न भने माओवादी खुला रहेको प्रकाशले जानकारी दिए । 'आर्थिक संकट टार्न अन्य वैकल्पिक उपाय सोच्न सकिन्छ भन्ने बैठकको निष्कर्ष हो,' उनले भने, 'पहिले राजनीतिक गतिरोधकै समाधान गरौँ ।' सरकारले कात्तिक मसान्तसम्मका लागि पेस्की बजेट ल्याएको थियो । कात्तिक पहिलो सातासम्म पनि सहमतिको सरकार अनिश्चित भए पूर्ण बजेट ल्याउने तयारी गर्न अन्य दलहरूले काम चलाउ सरकारलाई दसैँअघि नै स्वीकृति दिएका थिए ।माओवादीको विस्तारित बैठकको तयारीका विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको थियो ।

No comments: