News

Oct 13, 2010

भारतीय ज्यादतीविरुद्ध प्रवासी नेपालीको प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल,२६ असोज,रोजगारीको खोजीमा भारत गएका नेपालीलाई भारत सरकाले स्थानीय निवास प्रमाण-पत्रको माग गर्दै अपमान गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जनाएको छ । जागिर खोज्न गएका र पहिलेदेखि नै जागिर गरिरहेका नेपालीलाई १९५० को सन्धि उल्लंघन गरेर भारत सरकारले स्थानीय प्रमाण-पत्रको माग गरेको उनीहरूको आरोप छ । अपमानजनक व्यवहार गरेको भन्दै एकता समाजले नेपाल सरकारको ध्यानाकर्षण गराउनुका साथै बुटवलमा प्रदर्शनसमेत गरेको छ । नेपालीले स्थानीय प्रमाणपत्र दिन नसक्ने बताउँदै सोमबार भारतीय उत्तरप्रदेशका मुख्यमन्त्री मायावतीलाई ज्ञापनपत्र बुझाएर प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाउन आएका समाजसँग आबद्ध प्रवासी नेपालीले मंगलबार बुटवलमा विरोध प्रदर्शन र सभा गरेका छन् ।
१९५० को सन्धि नेपालीको हितविपरीत भएकाले उक्त सन्धिको खारेजीको माग गर्दै आएका एकता समाजका नेता तथा कार्यकर्ताले १९५० को सन्धिले दिएको अधिकारसमेत कटौती गरेर नेपालीप्रति भारतले दमनको नीति अपनाएको आरोप लगाए । उनीहरूले १९५०को सन्धि तत्काल खारेजीको माग गरेका थिए । इमानदार नेपालीलाई भारतीय प्रहरीले दिनदहाडै लुटपाट, कुटपिट र बलात्कार गर्दासमेत भारत सरकार मौन रहेको उनीहरूको भनाइ छ ।
केही दिनअघि चार भारतीय प्रहरीद्वारा सामूहिक रूपमा १३ वषीया नेपाली बालिका बलात्कृत भएपछि उजुरी दिँदासमेत अभियुक्तलाई कारबाही हुनुको सट्टा उल्टै प्रवासी नेपालीलाई बारम्बार  ज्यान मार्ने धम्की दिइएको पनि उनीहरूले बताए । विरोध सभामा बोल्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कृष्ण केसीले भारतीयले नेपालीप्रति गरिरहेको गलत व्यवहार नसच्याए भारतीय विस्तारवादको विरुद्व कडा आन्दोलनमा उत्रने चेतावनी दिए । नेपालका राजनीतिक दलले जनताप्रति विश्वासघात गरेको आरोप लगाउँदै उनले नयाँ संविधानमार्फत ल्याउन खोजिएको संघीयताले मुलुकको अखण्डतालाई विभाजन गर्ने दाबी गरे ।
समाजका सल्लाहकार मित्रलाल भुसालले भारतमा रहेका र स्वदेश र्फकने क्रममा नेपाली सिमानामा लुटिने, पिटिने गरेको विषयमा नेपाल र भारत सरकारको ध्यानाकर्षण गराउन देश, विदेशमा विरोध सभा गर्ने बताए । सभासद सन्तबहादुर नेपालीले भारतले नेपालको विरुद्धमा योजनाबद्ध तरिकाले षड्यन्त्र गरिरहेको आरोप लगाए ।

No comments: