News

Oct 22, 2010

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार प्रहरी हिरासतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, ४ कात्तिक,बलात्कार गर्न खोजेको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार प्रहरी हिरासतमा परेका छन् । बलात्कारको आरोपमा तीन युवक पनि पक्राउ परेका छन् । सशस्त्र सीमा सुरक्षा बल कञ्चनपुरका वरिष्ठ हवल्दार गंगा चन्दलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हो । बलात्कार गर्न खोजेको आरोपमा उनलाई हिरासतमा राखिएको कञ्चनपुरका प्रहरी उपरीक्षक पवनकुमार खरेलले बताए । उनलाई बुधबार सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट झिकाएर हिरासतमा ल्याइएको हो । कञ्चनपुर भीमदत्त नगरपालिका-४ बजारमा डेरा गरी बस्ने गोमा थापा (नाम परिवर्तन) लाई जबर्जस्ती गर्न खोजेको आरोप चन्दमाथि लागेको छ । २० असोजमा गोमाको कोठामा गएर उनले जबर्जस्ती गर्न खोजेको र प्रतिकार गर्दा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटिएकी गोमाको महाकाली अञ्चल अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण गरिएको थियो । उनले दिएको उजुरीको आधारमा चन्दलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । यसैगरी, सामूहिक बलात्कारको घटनामा संलग्न तीन युवक पनि पक्राउ परेका छन् । पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णपुर गाविस-४ की एक महिलालाई ३१ असोजमा सामूहिक बलात्कार गरेको आरोपमा कृष्णपुरका वीरबहादुर चौधरी, बलबहादुर चौधरी र कुहिरे चौधरीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । घरमै सुतिरहेको अवस्थामा आएका उनीहरूले बलात्कार गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छिन् । पीडित महिलाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएकेा थियो । स्वास्थ्य परीक्षणपछि मात्रै उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला अदालतमा जबजस्र्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

No comments: