News

Oct 16, 2010

संशोधन गरी नयाँ प्रधानमन्त्री चयनको आधार दिनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३०,सभामुख सुवास नेम्वाङले आवश्यक परे संविधान र संसद नियमावलीमा संशोधन गरी नयाँ प्रधानमन्त्री चयनको आधार दिनुपर्ने बताएका छन्। काँग्रेसले दिनमा २४ पटक चुनाव गरे पनि उम्मेदवारी फिर्ता नलिने अडान राख्दै आएको बेला आएको सभामुखको यो धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ। संविधान लेखनका काम र सरकार गठनमा भइरहेका ढिलाई बारे राष्ट्रपति डा रामवरण यादव र सभामुख सुवास नेम्बाङबीच शुक्रबार भएको छलफलमा सभामुखले यस्तो विचार राखेका हुन्। राष्ट्रपति भवनमा भएको भेटका अवसरमा संविधान लेखनका काम तथा सरकार गठनको प्रयास र अप्ठ्यारा बारे सभामुख नेम्बाङले राष्ट्रपतिलाई जानकारी गराएका थिए। सो अवसरमा राष्ट्रपति डा यादवले सरकार गठनमा भएको ढिलाईले उत्पन्न राजनीतिक गतिरोधप्रति चिन्ता र सरोकार राख्दै यो अवस्थाको अन्त्यका लागि दलहरू मिलेर जानुको विकल्प नरहेको धारणा राखेको सभामुख नेम्बाङले भेटपछि पत्रकारहरूलाई जानकारी दिए।
सभामुख नेम्बाङले नयाँ प्रधानमन्त्री चयनका लागि अनुपस्थित र तटस्थ नबसेर मतदान गरेर मुलुकलाई नयाँ प्रधानमन्त्री दिने र त्यो हुन नसके सम्पूर्ण उम्मेदवारी फिर्ता गरेर आवश्यक परेमा संविधान र संसद नियमावलीमा संशोधन गरी नयाँ प्रधानमन्त्री चयनको आधार दिनुपर्ने धारणा राष्ट्रपति समक्ष राखेको जानकारी दिए। उनले राजनीतिक निकासका लागि निर्णय गर्ने अधिकार दलहरूकै हातमा रहेको भन्दै प्रधानमन्त्री चयनको अहिलेको अवस्थामा आफ्नो विशेषाधिकार प्रयोग गर्ने अवस्था नरहेको पनि दोहोर्‍याए।

No comments: