News

Oct 29, 2010

मुलुककै सबैभन्दा बढी रकमको पुरस्कार घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १२,विश्वकै सबैभन्दा पुरानो सामाजिक संस्था रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ ले नेपालमै सर्वाधिक रकमको पुरस्कार घोषणा गरेको छ। गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेस्नल एक्सिलेन्स नाम दिइएको यो पुरस्कार सामाजिक सेवामा उत्कृष्ट कार्य गर्नेलाई दिइनेछ। रोटरी इन्टरनेशनल नेपाल डिष्ट्रिक्टका संस्थापक सदस्यसमेत रहेका गोपाल राजभण्डारीको सम्झनामा उनको परिवारले सो पुरस्कार स्थापना गरेको हो। १० लाख रुपैयाँको सो पुरस्कार प्रत्येक दुई वर्षमा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना व्यक्ति वा सङ्घ-संस्थालाई प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर तीर्थमान शाक्यले जानकारी दिए। पत्रकार सम्मेलनमा शाक्यले समाजलाई हित हुनेगरी उत्कृष्ट योगदान दिने मुलुकभरका व्यक्ति र सङ्गठनमध्येबाट छनौट गरी प्रत्येक दुई वर्षमा अक्टुबरमहिनामा विशेष कार्यक्रम आयोजना गरी वितरण गरिने क्लबको योजनाबारे जानकारी दिएका थिए। समाजका लागि विभिन्न क्षेत्रबाट योगदान दिइरहेकाहरुलाई अझै बढी उत्साहका साथ सो क्षेत्रमा लाग्न पुरस्कारले उत्प्रेरणा दिने विश्वास उनले व्यक्त गरे। यस वर्षको पहिलो पुरस्कार भने समय अभावका कारण सन् २०११ को अप्रिल ८ तारिखमा हुने राष्ट्रिय सम्मेलनको अवसर पारेर वितरण गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो। पुरस्कारका लागि पाँच सदस्यीय छनौट समिति गठन गर्ने र सोही समितिले पुरस्कृत हुने व्यक्ति/संस्था छनौट गरिनेछ। प्रारम्भमा नेपाललाई क्षेत्र बनाइए पनि पछि यसलाई सार्क क्षेत्रकै पुरस्कारका रुपमा रकम थपेर अगाडि बढाइने जानकारी क्लबका प्रवक्ता सन्तोष शर्माले जानकारी दिए।

No comments: