News

Oct 23, 2010

प्रचण्डलाई लिन बेइजिङको टोली सांघाईमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सांघाई, कात्तिक ६ - शुक्रबार राति सांघाई आइपुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई लिन बेइजिङबाट मन्त्रस्तरीय टोली सांघाई आएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री आई पिङको नेतृत्वमा शुक्रबार सांघाई आएको पाँच सदस्यीय टोलीमा विभागीय प्रमुख र उपप्रमुख लगायत छन्।
दाहालको सांघाईका कार्यक्रममा दुई दिन सँगै रहने टोलीले आइतबार साँझ उनलाई लिएर बेइजिङ जाने कार्यक्रम छ। नेपाल मामिलामा गहिरो जानकारी राख्नेब उपमन्त्री सरहका पिङ दाहालसँग पहिलादेखि नै सम्बन्ध रहेका बेइजिङका उच्च कुटनीतिक अधिकारी हुन्। दाहालको भ्रमण व्यवस्थापनमा बेइजिङ र सांघाईबाट कुटनीतिज्ञ सहित १३ जना चिनियाँ संलग्न छन्। पाँच दिने चीन भ्रमणको क्रममा अध्यक्ष दाहाल सहितको माओवादी टोली शुक्रबार राति सांघाई आइपुगेको हो। चीनको प्रमुख व्यापारिक शहरमा भइरहेको सांघाई वर्ल्ड एक्स्पोमा सहभागी भएर आइतबार साँझ राजनीतिक भेटघाटका लागि चीनको राजधानी बेइजिङ जाने उनको कार्यक्रम छ।
स्थानीय समय अनुसार राति सवा दश बजे दाहाल सांघाई एयरलाइन्सबाट पुदोङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका थिए। भ्रमण टोलीमा माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्यूरो सदस्य अग्नि सापकोटा र दाहालका स्वकीय सचिव समिर दाहाल छन्। विमानस्थलमा दाहाललाई चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको सांघाईस्थित उपप्रमुख वङ सिओसु सहितको टोलीले स्वागत गरेको थियो। नेपाल पेभेलियनका विनोदबहादुर श्रेष्ठ, अमृत शाक्य र विनायक शाहले पनि विमानस्थलमा दाहाललाई स्वागत गरेका थिए। दाहालको टोली सांघाईको सिजिओ गेष्ट होटल बसेको छ।
काठमाडौँबाट एयर चाइनामा आएको दाहालको टोली छेङ्दुबाट जहाज परिवर्तन गरी सांघाई एयरलाइन्समा आएको हो। विदेश विभाग प्रमुख महराका अनुसार ल्हासा विमानस्थलमा तिब्बत जनसरकारका उपप्रमुखले टोलीलाई स्वागत गरेका थिए।
शनिबार र आइतबार मध्यान्नसम्म सांघाई एक्स्पो अवलोकन तथा अन्तर्त्रि्कयाहरू सहभागी हुने दाहालको कार्यक्रम छ। सांघाई नगर सरकारको विदेश विभागले तयार गरेको कार्यक्रम अनुसार दाहाल शनिबार चिनियाँ कम्युनिष्ट पार्टीका सांघाई नगरका स्थाई समिति सदस्य यङ सिओदुले आयोजना गर्ने दिवा भोज सहितको बैठकमा सहभागी हुनेछन् भने साँझ नेपाल पेभेलियनले रात्रीभोज सहितको कार्यक्रममा आयोजना गरेको छ। शनिबार दाहालले चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, रुस, जर्मनी, श्रीलंकाका पेभेलियन अवलोकन गर्ने कार्यक्रम छ। आइतबार एक्स्पोका केही महत्वपूर्ण भाग अवलोकन गरी साँझ छ बजे बेइजिङ उड्ने कार्यक्रम छ। बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटघाट हुने बताइएको छ।

No comments: