News

Oct 19, 2010

माओवादीद्वारा बजेट ल्याउने सरकारी तयारीको विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २ - कामचलाउ सरकरले बजेट ल्याउने तयारी सुरु गरेको बेला प्रमुख प्रतिपक्षी माओवादी पदाधिकारी बैठकले मंगलबार कामचलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनपछि मात्र बजेट ल्याउन उपयुक्त हुने ठहर गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा देखिएको आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरी बजेटको वैकल्पिक व्यवस्था गर्न आफ्नो पार्टी तयार रहेको बताए । नयाँ सरकार छिटो गठन गर्न दलहरूबीचको वार्तालाई तीव्र तुल्याउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि शान्ति, संविधान र सहमतिका पक्षधरबीच एकता कायम हुनुपर्ने पार्टीको अडान यथावत रहेको पनि बताए ।
गत असारमै पारित हुनुपर्ने बजेट प्रमुख प्रतिपक्षी माओवादीको अवरोधका कारण पेश हुन नसकेपछि पेश्की बजेट ल्याइएपनि असोज मसान्तबाट त्योसमेत सकिएकाले मुलुक ठूलो आर्थिक संकट उन्मुख रहेको अर्थविद्हरुले बताएपछि कामचलाउ सरकारले बजेटको तयारी सुरु गरेको हो । राजिनामा दिएको ३ महिनाभन्दा बढि भइसक्दा पनि नयाँ सरकार बन्न नसकेको र सरकार बन्ने सम्बन्धमा टुङ्गो लग्न नसकेकाले बजेटको तयारी गर्नु परेको सरकारले बताउँदै आएको छ ।

No comments: