News

Oct 18, 2010

पूर्वमन्त्री अम्बिका साँवाको दाहसंस्कार बिहीबार गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ, कार्तिक १ - पूर्वमन्त्री तथा माओवादीका केन्द्रीय सल्लाहकार सदस्य अम्बिका साँवाको दाहसंस्कार कार्तिक ४ गते विहीवार गरिने भएको छ । ताप्लेजुङमा रहेका साँवाका परिवार मंगलवार मात्रै काठमाडौं पुग्ने र माओवादी पार्टीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेकोले दाहसंस्कारमा ढिलाइ भएको भतिज वालकुमार साँवाले बताए । अम्विकाका भाइ हरि साँवा र भान्जा नरजङ थलङ ताप्लेजुङ को खोक्लिङमा छन् ।
ताप्लेजुङवाट उपचारार्थ काठमाडौं लगिएका ७१ वर्षिय साँवाको आइतवार राती मोडेल अस्पतालमा निधन भएको थियो । उनले आफ्नै निवास छेउको तमोर मेवामा दाहसंस्कार गरिदिनु भन्ने प्रस्ताव जिवित छदैं गरेका भएपनि सबै परिवार काठमाडौमा रहेकाले काठमाडौकै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने वालकुमारले बताए । उनको दिवंगत शरिर अहिले ललितपुरस्थित नक्कीवोधमा राखिएको छ । माओवादी सम्बद्ध लिम्बुवान मोर्चाको कार्यालयमा राखिएको हो ।
साँवालाई किड्नी र श्वास प्रश्वास र उच्च रक्त चापको समस्या थियो । आइतवार बिहान नेपाल वायुसेवा निगमको जहाज मार्फत काठमाडौं पठाउन खोजिएका साँवाले जान नमानेपछि हेलिकोप्टरवाट पठाइएको थियो । नेकपा माले र राप्रपाको संयुक्त सरकारमा जनसंख्या तथा वातावरण मन्त्री भएका साँवा जिल्ला पञ्चायत सदस्य पछि २०२२ सालमा जिल्ला पञ्चायत सभापति र २०४६ पछि दुई पटक ताप्लेजुङ क्षेत्र नम्बर २ को सांसद भएका थिए । २०४३ सालमा जनपक्षीय उम्मेद्वारको रुपमा राष्ट्रिय पञ्चायत सदस्यमा पराजित भएका साँवा २०६२ सालदेखि माओवादीमा प्रबेस गरी भूमिगत राजनीतिमा लागेका थिए । साँवाका दुई छोरा र छ छोरी छन् ।

No comments: