News

Feb 2, 2011

कांग्रेस नेताले घरजग्गा फिर्ता गराउन आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युद्धकालमा लुटेको घरजग्गा अझैसम्म पनि फिर्ता नगरेको भन्दै माओवादी पिडित कांग्रेस नेताहरुले संर्घषका कार्यक्रम घोषणा गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेस नेताहरुले संर्घषका कार्यक्रम घोषणा गरेका हुन् । माओवादीले सञ्चालन गरेको एक दशक लामो ससस्त्र द्धन्द्ध कालमा कब्जा गरिएका घर जग्गा अझै पनि फिर्ता नभएको भन्दै पिडित कांग्रेसीहरुले संघर्षका कार्यक्रम घोषणा गरेको हुन् ।
कांग्रेस लगायत प्रमुख दलहरुले माओवादी लडाकुको समायोजन र पुर्नस्थापनालाई मात्रै केन्द्रमा राखेको तर द्धन्द्धकालमा कब्जा भएका जग्गाको बिषयलाई नजरअन्दाज गरेको समेत आरोप लगाएका छन्। माओवादी पिडितका मुद्दा ओझेलमा पारेको भन्दै आन्दोलन घोषणा गरिएको पत्रकार सम्मेलनमा नेताहरुले जानकारी दिए । आन्दोलनका लागि कांग्रेस केन्द्रीय सदस्य केवि गुरुङको संयोजकत्वमा सर्घष समिति समेत घोषणा गरिएको छ। समितिमा विनयध्वज चन्द, नारायण गौतम, लीलाधर भण्डारी, ज्ञानेन्द्रराज आरण, हुमनाथ दवाडी, मुक्ति आचार्य, कमला राइ र भीमकुमारी बुढा सदस्य छन् ।
सम्पती फिर्ता गर्न प्रमुख दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने, जिल्ला जिल्लामा सम्पती फिर्ता गर्न माग गर्दै आमसभाहरु गर्ने लगायतका कार्यक्रम घोषणा गरिएका छन् । मागहरुमा उचित सम्वोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । कांग्रेस नेता विनयध्वज चन्द्रको संयोजकत्वमा गठन भएको शान्ति प्रक्रिया एवं द्वन्द्वपिडित अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ हजार १ सय ७४ परिवारका करिव ६० हजार नागरिकले विस्तापनको सिकार भोगेका छन् भने ६ हजार ५७ परिवारको घरजग्गा अझै कब्जा गरिएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समयमै तीनमहिना भित्रै सम्पती फिर्ता गर्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म युद्धकालममा कब्जा गरिएको सम्पती फिर्ता भएको छैन ।

No comments: